सरकारले निर्वाचनको वातावरण बनाउन सकेनः राप्रपा नेता राणा

राप्रपा ३ प्रतिशतको थ्रेस होल्डको पक्षमा

भक्तपुर,माघ २८। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर जबराले वर्तमान सरकारले अझै निर्वाचनको वातावरण बनाउन नसकेको तर्क गर्दै जेठमा स्थानीय निकायको निर्वाचन गर्न नसक्ने बताएका छन ।

रफत सञ्चार क्लवले आयोजना गरेका साक्षात्कार कार्यक्रममा बोल्दै नेता राणाले राप्रपा जेठमा निर्वाचनको पक्षमा भएपनि सरकार निर्वाचन गर्ने वातावरण अझै तयार गर्न नसकेको भन्दै जेष्ठमा निर्वाचन असम्भव भएको बताएका हुन ।

मधेशी मोर्चाको संविधान संशोधनको मागलाई कुनै पनि हालतमा एमालेले पारित हुन नदिने र अर्कातर्फ सरकारले मधेशी मोर्चालाई माग सम्बोधन गर्ने प्रतिवद्धता जनाइसकेकाले निर्वाचन असम्भव भएको उनले बताए । उनले मधेशवादी दललाई वाईपास गरेर निर्वाचन सम्भव नभएको बताउँदै दुई दशकदेखि हुन नसकेको निर्वाचन यथाश्रीघ यही सरकारले गर्नुपर्ने धारणा राखे।

ठूला पार्टीले देशलाई दिशा दिन नसक्दा देश कता जाने,के गर्ने अनिर्णयको बन्दीमा फसिरहेको बताउँदै ठूला राजनीतिक दलहरु जिम्मेवार भएर अगाडि बढ्नुपर्ने उनले बताए । उनल् चुनाव हुने वा नहुने मुलुक संकटमा परेको बताउँदै निर्वाचन नभए मुलुक संवैधानीक संकटमा फस्ने बताए ।

तत्काल निर्वाचनको मिति घोेषणा गर्न माग गर्दै सरकारले भूकम्पपीडितको लागि केहि काम गर्न नसकेको उनले बताए । सरकारले पुनःनिर्माणको कार्यलाई अगाडि बढाउन नसक्दा जनता निरास भइरहेकाले तत्काल पुनःनिर्माणको कार्य अगाडि बढाउन सरकारलाई आग्रह गरे । भूकम्पपीडितलाई बाँडिएको किस्ताले नेपाली जनतालाई अपुग भएको उनको भनाई थियो ।

देशमा ठूला पार्टीको नयाँ विकल्पको रुपमा राप्रपा अगाडि बढिरहेको भन्दै उनले भने–‘आगामी निर्वाचनमा पार्टी तेस्रो शक्तिको रुपमा स्थापित हुने हामीले विश्वास गरेका छौ । पार्टी एकतापछि राप्रपालाई निर्वाचनमा तेस्रो शक्तिका रुपमा उभ्याउने देखिएको छ । अन्य ठूला पार्टीले देशलाई विकास गर्न नसकेकाले नयाँ विकल्पको रुपमा हाम्रो पार्टी जनताको अभिमत बटुल्दै अघिबढेको छ ।’

महाधिवेशनबाट आउने नयाँ नेतृत्वले मुलुकमा भएको विद्यमान समस्यालाई हल गर्ने भन्दै उनले ३ प्रतिशतको थे्रसहोडले राप्रपालाई कुनै फरक नपर्ने र थे्रसहोड राख्नुपर्ने पक्षमा राप्रपा रहेको जनाए ।