मालिक र श्रमिकबीच गतिशील सन्तुलन आवश्यक छः सयोजक भट्टराई

खगेन्द्र प्याकुरेल नेतृत्वको ट्रेड युनियन नयाँ शक्तिमा प्रवेश

काठमाडौं,माघ २८। नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले रोजगारीको अवसर सिर्जना गर्नका लागि पुँजी लगानी गर्ने मालिक र श्रमको लगानी गर्ने श्रमिकबीच गतिशील सन्तुलन कायम गरी अघि बढ्नुपर्ने बताएका छन ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा नयाँ शक्ति पार्टी नेपालको मजदुर संगठनमा खगेन्द्र प्याकुरेलको नेतृत्वको ‘स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघ’लाई एकिकरण गर्न अयोजित कार्यक्रममा बोल्दै डा. भट्टराईले त्यस्तो बताएका हुन ।

स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघका पदाधिकारीलाई पार्टी प्रवेश गराउँदै संयोजक भट्टराईले नेपाल समाजवादी ट्रेड युनियनमा षडयन्त्रमूलक व्यवहार नभई सहभागितामूलक निर्णय प्रक्रिया र समावेशी नेतृत्व हुने बताए भन्दै त्यसले आम श्रमीकहरुको विषयमा काम गर्नुपर्ने धारणा व्यक्त गरे ।

संयोजक भट्टराईले नयाँ शक्ति पार्टी नेपालको मजदुर संगठन पुराना ट्रेड युनियनहरुको निरन्तरता नभई नयाँ सोंच, विचार र कार्यशैली सहित शुरु गरिएको जनाउदै नेपाल समाजवादी ट्रेड युनियन महासंघ वैकल्पिक महासंघ भएकाले सबै ट्रेड युनियनहरुको प्रतिनिधीत्व गर्नुपर्ने बताए ।

हिजोबाट खगेन्द्र प्याकुरेल नेतृत्वको ‘स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघ’ नया शक्तिको ‘नेपाल समाजवादी ट्रेड युनियन महासंघ’मा एकीकरण भएको भएको छ । महासंघमा प्याकुरेलसँगै कृष्णप्रसाद सुवेदी (बुहदल कान्छा), मणिकुमार घिमिरे, राजेश मैनाली, बलबहादुर तामाङ, पाण्डवप्रसाद थपलिया, सनकबहादुर मैनाली, पवनजंग मैनाली, राजकुमार श्रेष्ठ, सुरेन्द्र मोक्तान, सिता दाहाल, कृष्णकला ढकाल, बिन्दा गिरी, निर्मला पौडेल, सत्यनारायण चौधरी लगायतका नेताहरु नयाँ शक्तिमा प्रवेश गरेका छन ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा नयाँ शक्ति पार्टी नेपालको मजदुर संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुँजीको अभावमा रोजगारीको अवसर सिर्जना नहुने र श्रमिकको अभावमा पुँजीको उचित परिचालन हुन नसक्ने स्थितिको अन्त्यका लागि सन्तुलन कायम गर्नुपर्ने भन्दै त्यस्तो धारणा व्यक्त गरेका छन ।

उक्त कार्यक्रममा नेपाल समाजवादी ट्रेड युनियन महासंघका संयोजक लालध्वज नेम्बाङ, नयाँ शक्ति पार्टी, नेपालका सह–संयोजक महेश कोर्मोचा, दुर्गा सोब, संगठन विभाग संयोजक देवेन्द्र पौडेल, आंगिक प्रदेश प्रमुख कुमार पौडेल, प्रवक्ता खिमलाल देवकोटा लगायतले सम्बोधन गरेका थिए ।