सरकारले निर्वाचनको वातावरण नबनाए आन्दोलन गछौः एमाले नेता खनाल

निर्वाचनका लागि सरकार गम्भीर हुनु पर्नेमा जोड

काठमाडाै‌,माघ २७ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पचण्ड नेतृत्वको वर्तमान सरकाराले फागुन आउनै लाग्दासम्म पनि चुनावको मिति घोषणा गर्न आलटाल गरिरहेको भन्दै असन्तुष्टि पोखेका छन ।

आज बिहान इलामको त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ क्याम्पस एकाइ कमिटीले आयोजना गरेको एक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन सम्बन्धी सरकारको तयारीबारे आफ्नो असन्तुष्टि पोखेका हुन ।

उनले तोकिएको समयमा तीन तहको निर्वाचन गराउन नसकेमा सरकारको अस्तीत्व समाप्त हुने र संविधानबाट प्राप्त भएका उपलब्धीहरु समेत गुम्न जाने खतरा रहेको भन्दै सरकारलाई बाहनाबाजी छाडेर निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेका छन ।

लामो समयसम्म स्थानीय तहको निर्वाचन नभएका कारण समाजमा अनियमितता,अराजकता,भष्टाचार बढेको भन्दै उनले सरकारले निर्वाचनको लागि गम्भीर हुदै त्यसको वातावरण बनाउनु पर्नेमा जोड दिएका छन ।

सरकारले संविधानको कार्यान्वयनमा विशेष जोड दिदै तीन तहको निर्वाचन गरेर मुलुकलाई आर्थीक,सामाजिक विकास तर्फ डोर्याउनुको सट्टा अनावश्यक रुपमा संविधान संशोधनको प्रस्ताव अघि बढाएर जनभावना विपरीतको काम गर्न थालेको भन्दै उनले सरकारले समयमै निर्वाचनको वातावरण नबनाए आन्दोलन गर्ने चेतावनि समेत दिएका छन ।