त्रिविमा अखिल (छैठौं)को स्ववियु सभापतिको उम्मेदारमा सगुन शर्मा

फागुन १ गते सबै क्याम्पसका उम्मेदार घोषणा गर्ने तयारी

काठमाडौं,माघ २७ । चित्र बहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा पार्टी निकटको अखिल (छैठौं)ले आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि आन्तरिक तयारी पुरा गरेको जनाएको छ । अखिल छौठौंले त्रिभुवन विश्वविद्यालयको स्ववियु अध्यक्ष पदका लागि सगुन शर्मालाई उम्मेदार बनाउने बताएको छ ।

अखिल छैठौंका अध्यक्ष विमल पोख्रेलले हरपल नेपालसँग कुरागर्दै भने–‘हामीले स्ववियु निर्वाचन त्रिविले सार्वजनिक गरेको कार्यतालिका अनुसार नै हुनुपर्छ भनेका छौ । निर्वाचनका लागि हाम्रो संगठनभित्र आन्तरिक छलफल र तयारीहरु भएका छन । कहाँ कस्लाई उम्मेदार बनाउने भन्ने विषयमा हामी सोचीरहेका छौ । त्रिविको अध्यक्षको उम्मेदारको रुपमा सगुन शर्मालाई अघि सारेका हौ,त्रिविमा उहाँको व्यक्तिगत र संगठनात्मक प्रभाव पनि राम्रो देखिन्छ ।’

अध्यक्ष पोख्रेलले स्ववियु निर्वाचनको लागि संगठनले चुनावि घोषणा पत्र प्रकाशन गरिसकेको बताए । उनले देशैभरीका स्ववियु निर्वाचन हुने क्याम्पस,कलेजहरुमा कस्लाई उम्मेदार बनाउने भन्ने मोटामोटी छलफ भएको तर अझै धेरै विषयहरु टुङ्गिन बाँकी रहेको बताए ।

अध्यक्ष पोख्रेलका अनुसार अखिल छैठौंले आउदो फागुन १ गते देसैभरी क्याम्पसहरुमा संगठनको तफबाट स्ववियु उम्मेदारको लिस्ट सार्वजनिक गरिने छ ।