नयाँ शक्ति पार्टी जिउँदो माछा भएकोले पानी विपरित बग्छः डा भट्टराई

तीन तहको निर्वाचनको तयारीमा रहन निर्देशन

हेटौँडा,माघ २७ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले नयाँ शक्ति जिउँदो माछा भएको बताएका छन । मकवानपुर जिल्ला पार्टीको संगठन विभागले हेटौंडामा हिजो सम्पन्न गरेको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नयाँ शक्ति पार्टीका संयोजक डा.भट्टराईले त्यस्तो बताएका हुन ।

संयोजक डा.भट्टराईले अरु पार्टी मरेको माछा जस्तो देखिन्छ,जुन पानीको बहावसँगै बग्ने गरेका छन भने नयाँ शक्ति पार्टी जिउँदो माछा भएकोले पानी विपरित बग्ने बताए ।

डा.भट्टराईले भने –‘हामी नयाँ हुनुपर्‍यो, पुरानै कुरा गर्ने अनि नयाँ परिणाम खोज्ने पागलपन हामीले गर्नु हुँदैन । पुँजी र श्रमलाई समान रुपले अघि लैजान सके आर्थिक समृद्धि सम्भव छ । आन्तरिक राष्ट्रिय एकता बलियो बनाउँदै लोकतन्त्रको व्यवस्थापन गरी आर्थिक विकास र समृद्धिको बाटो नै नयाँ शक्ति पार्टीको लक्ष्य रहेको रहेको छ । तपाई हामी मिलेर यो लक्ष्यलाई पुरा गर्नुपर्छ ।’

, संयोजक भट्टराईले जिल्लाका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिँदै पार्टीमा दुईपटक भन्दा बढी कोही कार्यकारी नरहने र ७० वर्ष कटेपछि कार्यकारी पदमा नराखिने भएकाले यवाहरुनै भावि नेताहरु हुनेमा विश्वस्त पारे ।

उनले पार्टीले संचालन गरेको ६ महिने ‘घरघरमा नयाँ शक्ति अभियान’ अन्तर्गत ३ लाख भन्दा बढी पार्टी सदस्य बनाउने लक्ष्य रहेकोले त्यसमा लाग्न र स्थानीय, प्रदेश र केन्द्र तीन तहकै निर्वाचनको लागि आवश्यक तयारीमा रहन समेत कार्यकर्तालाई निर्देशन दिए ।

उक्त कायक्रममा नयाँ शक्ति पार्टीका केन्द्रीय सह–संयोजक रामचन्द्र झा, ३ नं प्रदेश संयोजक गंगानारायण श्रेष्ठ तथा हरिराम रिमालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा ३ नं प्रदेश सह–संयोजक सोनामसिं स्याङ्तान, केन्द्रीय कार्यकारी सदस्य सबिना अर्याल, अमर लामा, प्रल्हाद लामिछाने, विवेक वाइवा, जीवनमान मोक्तान, ज्योती रायमाझी लगायतको उपस्थिति रहेको थियो ।