चितवनमा दुई मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

अर्का एकजना पनि मृत अवस्थामा भेटिए

चितवन,माघ २७ । चितवनको दारेचोकस्थित कुरिनटारमा दुईवटा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

गएराति ८ः३० बजेको समयमा भएको सो दुर्घटनाबाट दारेचोक–३ कुरिनटारका २० वर्षीय पूर्णबहादुर चेपाङ गम्भीर घाईते भएका थिए । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा राति नै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

सुरुमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ग ८ प ६५६७ नंको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । लगत्तै पुनः ग ९ प ५३५१ नंको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

उनको उपचारका क्रममा गएराति करिब ९ः३० बजेतिर भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको जनाइएको छ । अहिले शव भरतपुर अस्पतालमा राखिएको छ ।

यसैबीच चितवनको दक्षिण तर्फपर्ने माडीमा पनि एक पुरुष सुतेकै अवस्थामा मृत भेटिएका छन् । माडी नगरपालिका–५ बस्ने ३६ वर्षीय हरि तिवारी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

छिमेकी जीवन महत्तोको छोराको विवाहमा भोज खाई उनी घर आएर सुतेका थिए । बुधबार तिवारी सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएको चितवन प्रहरीले जनाएको छ । खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय माडीबाट प्रहरी निरीक्षक अरविन्दकुमार दुवेदीको नेतृत्वमा प्रहरी घटनास्थलको मुचुल्का उठाएको जनाइएको छ ।

शवपरीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको प्रहरी प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिएका छन। घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको उनले बताए । रासस