म्याग्दीमा स्वास्थ्य बिमा गरेकालाई फागुन १ गतेदेखि निःशुल्क सेवा

म्याग्दी,माघ २५ । सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बिमा) गरेका म्याग्दीले आगामी फागुन १ गतेदेखि निःशुल्क सेवा पाउने भएका छन् ।

सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत जिल्ला स्वास्थ्य कार्यालय र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दीले सहयोगी परिचालन गरी सुरु गरेको दर्ता अभियानमा स्वास्थ्य बिमा गरेकालाई फागुन १ गतेदेखि निःशुल्क सेवा दिने गरी सोमबार पोखरामा सम्झौता भएको छ ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डाक्टर गुणराज लोहनी र म्याग्दीका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन न्यौपानेबीच बिमा सेवामा आवद्ध भएकालाई बेनी अस्पताल म्याग्दी र प्राथमिक स्वास्थ्य केन्द्र दरबाङबाट निःशुल्क सेवा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा बिमा दर्ताको प्रमाणपत्र लिएर आउने बिरामीलाई समान्यदेखि जटिल रोगको उपचारका साथै औषधिसमेत निःशुल्क उपलब्ध गराउने सम्झौतामा उल्लेख भएको डा रोशन न्यौपानेले बताए ।

“बिमा कार्यक्रममा सहभागी भएकाले निःशुल्क सेवा पाउनु हुनेछ, त्यसैले सबैलाई स्वास्थ्य विमामा सहभागी हुन अनुरोध गर्दछु” डा न्यौपानेले भने ।

म्याग्दीमा स्वास्थ्य बिमाप्रति आर्कषण बढेको छ । बिमा सेवामा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रुपमा प्रति परिवार दुई हजार ५०० र पाँच जनाभन्दा बढी भएमा प्रति सदस्य ४२५ रुपैयाँका दरले थप रकम तिरेर सदस्य बनी स्वास्थ्य सेवा लिन पाइने व्यवस्था रहेको छ ।