राजनीतिक दलसम्वन्धी थ्रेसहोल्ड विधेयक संसद्मा लिने तयारी

फागुन १० गते संसद्मामा प्रवेश हुने

काठमाडौं,माघ २५। राज्य व्यवस्था समितिले राजनीतिक दलसम्वन्धी विधेयकमा रहेको थ्रेसहोल्डको व्यवस्था राजनीतिक दलका शीर्ष नेताहरुबीच परामर्श गरी टुंग्याउने आफ्नो तयारी अघि बढाएको छ । उक्त विधेयक आउँदो फागुन १० गते संसद्मा पेश गर्नेगरी तयारी थालीएको छ ।

राष्ट्रिय दलको मान्यता पाउन थ्रेसहोल्ड कति राख्ने भन्ने संख्याको विषयमा कुरा नमिल्दा मंसिर २९ गते दर्ता भएका निर्वाचन कसुर र स्थानीय तह निर्वाचन पारित भइसक्दा पनि असोजमा दर्ता भएको विधेयक उपसमितिमा नै अल्झिएको थियो ।

असोजमा सुरुभएको निर्वाचन विधेयकमा बिवाद आएकाले लामो समयदेखि छलफलमा प्रवेश गर्न पाएको थिएन । पुस ८ गतेको राज्य व्यवस्था समितिले सांसद् आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा उपसमिति बनाई छलफल सुरु गरे गरेपनि उक्त समितिले समेत राजनीतिक दलसम्वन्धी विवादमा मिलाउन सकिराखेको थिएन।

उक्त उपसमितिमा अहिले भने राष्ट्रिय दलको मान्यता पाउन डेढ प्रतिशतदेखि पाँच प्रतिशतसम्मको विकल्पमा छलफल भइरहेको छ । दलहरुबीच अहिले तोकिएको थ्रेसहोल्डको संख्या तथा कम्तीमा एक सिट प्रत्यक्ष निर्वाचनतर्फ जित्ने दललाई राष्ट्रिय दलको मान्यता दिन सकिने विषयमा छलफल चलेको भएपनि थ्रेसहोल्डको संख्याको बारे भने कुनै सहमती हुनसकेको छैन ।