विकासका लागि बिदा थप्ने होइन, कटौति गर्नेतिर सोच्नुपर्छ– प्रधानमन्त्री प्रचण्ड

प्रजातन्त्र दिवस फाल्गुण ६,७ र ८ गते मनाउने निर्णय

काठमाडौं,माघ २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिका लागि विद्यमान सार्वजनीक बिदामा पूनर्विचार गर्न आवश्यक रहेको बताएका छन । आज ६७ औं प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले बिदाको विषयमा त्यस्तो विचार राखेका हुन ।

बैठकमा सार्वजनीक बीदा कटौति आवश्यक रहेको बोल्दै प्रधानमन्त्रीले भने– ‘हामीकहाँ धेरै क्रान्ति भए, दिवस पनि धेरै नै छन्, अर्कोतिर धेरै जातजाति, भाषाभाषी र संस्कृति छन्, ती सबैको ऐतिहासिक योगदानको सम्मान पनि गर्नु छ । तर, बिदा थपिँदै गएर विकास र समृद्धिका काममा बाधा पुग्ने अवस्था पनि त्यत्तिकै छ । त्यसैले हामीले कुन दिनलाई मूख्य राष्ट्रिय दिवसका रुपमा मान्ने भनेर सोच्नैपर्ने भएको छ । बिदा थप्ने होइन, कटौति गर्नेतिर सोच्नुपर्छ ।’

प्रधानमन्त्रीले राज्यद्धारा आयोजित कार्यक्रमहरु औपचारिक हुने, जनताको सहभागिता कमजोर हुने र जीवन्त नहुने समस्या रहेको उल्लेख गर्दै राज्यसँग जनताको सहभागिता सुनिश्चित गर्नेगरी जीवन्त कार्यक्रम बनाउन समेत आग्रह गरेका छन ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, मन्त्रीहरु, नेपाल सरकारका सचिवहरु, सुरक्षा निकायका प्रमूखहरु लगायतको उपस्थिति रहेको थियो ।

६७ औं प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले फाल्गुण ६, ७ र ८ गते प्रजातन्त्र दिवस भव्यतापूर्वक मनाउने, त्यसका लागि विभिन्न उपसमितिहरु बनाउने र जिल्लास्तरमा समेत कार्यक्रमहरु गर्ने निर्णय लिएको छ ।