क्यापिटल मर्चेन्ट फाइनान्स कम्पनी ठगी गर्ने फरार अभियुक्त पक्राउ

कैद भुक्तानको लागि मंगलबार केन्द्रीय कारागार चलान

काठमाडौं,माघ २५ । क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेड ठगीगरी फरार रहेका प्रतिवादी काठमाडौं–७ मन्डिखाटारका ४१ वर्षीय किरणकेशर नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले फरार रहेका अभियुक्तलाई सोमबार पानीपोखरी काठमाडौंबाट पक्राउ गरेको हो ।

नेपाल बैंकिङ्ग कसूर मुद्दामा पुनरावेदन अदालत पाटनको २०७१ बैशाख २९ गतेको फैसलाले ३ बर्ष कैद र ९ करोड ४१ लाख ३७ हजार ७ सय ७४ रुपैयाँ जरीवाना ठहर भएकोमा उल्लेखित सजाय वेरुजु भई अभियुक्त लामो समयदेखि फरार रहेको प्रहरीले हरपल नेपालसँग बताएको छ ।

अभियुक्त नेपालले २०६७ असार ३१ गते मण्डिखाटार काठमाडौंस्थित आफ्नो नामको ८ रोपनी जग्गाको अत्याधिक मुल्याङ्कन गराई धितो राखि, संचालनमा नभएको “सिता खाँडसरी चिनी मिल” परियोजनाको लागि क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडबाट नौं करोड कर्जा लिएका थिए । अभियुक्तले उक्त फाइनान्स कम्पनीका पदाधिकारी समेतको मिलोमतोमा नौं करोड रुपैँया कर्जा लिई ब्यबसायिक रुपले जग्गा कारोबारमा लगानी गरेको र ऋणको प्रकृया नै गलत भएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार फैसला कार्यान्वयनको लागि नेपाललाई काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि मंगलबार केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ ।