अंगीकृत नागरिकता पाएका एकाध अपराधीको नाममा संविधान संशोधन गर्न सकिन्नः एमाले नेता चौलागाई

सरकारले निर्वाचनको विषयमा आलटाल गरेको आरोप

भक्तपुर, माघ २५ । नेपाल एमालेका पोलिटब्यूरो सदस्य पशुपति चौलागाईले मधेशमा अंगीकृत नागरिकता पाएका एकाध अपराधिको नाममा संविधान संशोधन गर्न नसकिने बताएका छन ।

रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता चौलागाईले मधेशी जनता संविधान संशोधनको पक्षमा नभएको बताउदै आफ्नो त्यसतो धारणा प्रस्तुत गरेका हुन ।

वर्तमान ब्यवस्थापिका संसदले संविधान संशोधन गर्न नसक्ने र संविधान संशोधन मधेशी जनताको माग नभई मधेशका एकाथ अंगीकृत नागरिकता पाएको ब्यक्तिको माग भएको उनले आरोप लगाए । मधेशी मोर्चाकोे नाममा जो संगठीत भएर आएका छन् तिनीहरु मधेशी जनताविरोधी, राष्ट्रविरोधी भएको उनको भनाइ थियो ।

मधेशका भोका नांगा र गरिव जनताको माग नउठाउने मधेशी मोर्चा,देश विभाजन गर्ने कुरा उठाउनेहरु अपराधीक कार्य गरिरहेको भन्दै उनले निर्वाचनबाट दुई तिहाई ल्याएर संविधान संशोधन गर्न मधेशी मोर्चालाई चुनौती दिए ।

उनले आजको आवश्यकता संविधान संशोधन नभई निर्वाचन भएको बताउँदै सरकारले निर्वाचनको नाममा जनताको आँखामा छारो हाल्ने कार्य गरिरहेको समेत बताए ।

९० प्रतिशतभन्दा बढी बहुमतले पारित गरेको सविधानलाई केहि मधेशवादी नेताले भन्दैमा संविधान संशोधन गर्न नसकिने बताउँदै वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकार निर्वाचन नगर्न नाटक मञ्चन गरिरहेको र सरकारले रञ्जित रे लाई रिजाउन निर्वाचन जेठसम्म गर्ने भनेर नाटक मात्र मञ्चन गरेको तर रेको निर्देशन कुरेर बसेको छ,उनले बताए ।

एमाले कुनै पनि हालतमा जेठको पहिलो साताभित्र निर्वाचन गर्नुपर्ने पक्षमा रहेको बताउँदै निर्वाचन गर्न नसके सरकारको औचित्यता समाप्त हुने भएकाले सरकारले बैशाखको अन्तिम सातासम्म निर्वाचन गर्ने वातावरण बनाउनुपर्ने भन्दै उनले निर्वाचनको मिति घोषणा नगरेर सरकारले निर्वाचन गर्न नाचाहेको तर्क गरे ।

जेठको पहिलो सातासम्म पनि निर्वाचन गर्न नसकिए त्यसपछि बजेटका विषयमा छलफल गर्नुपर्ने र बर्खा सूरु हुने भएकाले तत्काल निर्वाचन मिति घोषणा गर्न सरकारलाई उहाँले आगेका छन।