आपराधिक कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गर्न प्रहरी महानिरीक्षक अर्यालको कडा निर्देशन

सुर्खेतमा नवनिर्मित भवनको उद्घाटन

सुर्खेत,माघ २५ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आपराधिक कार्यमा संलग्न व्यक्तिलाई खोजी खोजी पक्राउ गर्न मातहतका प्रहरी निकायहरुलाई कडा निर्देशन दिएका छन । उनले संकाशपद व्यक्तिको निगरानी गर्दै आवश्यक भएमा अनुसन्धानका लागि पक्राउ गर्न र निष्पक्ष रुपमा उनीहरुमाथी अनुसन्धान गर्नपर्ने बताए ।

आज सुर्खेतको विरेन्द्रनगरमा जिल्ला प्रहरी कार्यालयद्धारा आयोजित नवनिर्मित कार्यालय भवनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले त्यस्तो निर्देशन दिएका हुन ।

उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक अर्यालले भने–‘प्रहरीले कुनै पनि आपराधिक कार्यमा संलग्न व्यक्तिहरुको पक्राउ गर्ने अभियान चलाउनु पर्छ । प्रहरीलाई संकाशपद लागेको अवस्थामा त्यस्ता व्यक्तिलाई पक्राउगरी निष्पक्ष अनुसन्धानका गर्न गर्नुस । समाजिक मर्यादा मिच्ने,बढि तडक भडक देखाउने र अन्य संकाशपद व्यवहार देखिने मानिसहरुमाथी निगरानी बढाउदै अआवश्यक कारवाही गर्नुपर्ने देखिन्छ ।’

प्रहरी महानिरीक्षक अर्यालले मुलुकमा पछिल्लो पटक आपराधिक घटनाहरुको स्वरुप बदलिँदै गएको अवस्थामा प्रहरीले पनि नयाँ शैली अपनाई अनुसन्धान प्रकृयालाई तिब्र पार्नुपर्ने बताए ।

प्रहरीले आमनागरिकलाई कानुनको प्रत्याभूति दिलाउन सक्नुपर्ने उल्लेख गर्दै,प्रहरी महानिरीक्षक अर्यालले प्रहरी संगठनलाई समयसापेक्ष बनाएर नागरिकलाई शान्तिको अनुभूति दिलाउन आफूहरु कटिवद्ध रहेको र भौतिक स्रोतसाधनबाट पनि प्रहरी सक्षम हुनु आवश्यक रहेको चर्चा समेत गरे ।

उनलेले प्रहरी संगठनलाई भौतिक श्रोतसाधनमा सक्षमपार्ने केन्द्रीय नीति अनुरूप विभिन्न ठाउँमा नयाँ भवन निर्माण सम्पन्न भएको र केही ठाउँमा निर्माण प्रक्रिया संचालन भै रहेको जानकारी गराए ।

नयाँ भवनमा नयाँ सोच राखेर पीडितलाई निष्पक्ष न्याय दिने काममा प्रहरी सफल हुनुपर्ने भन्दै उनले नागरिकको सुरक्षा र मुलुकको शान्तिको चाहनालाई सबै प्रहरीले कतव्यबोद्य गर्नुपर्ने बताए ।

२०७१ साल मंसिरबाट निर्माण कार्य थालिएको उक्त कार्यालय भवनको निर्माणमा ३ करोड ७४ लाख ९१ हजार ७ सय २९ रुपैयाँको खर्च भएको र भवनमा सुविधा सम्पन्न हिरासत कक्ष, बन्दोवस्तीका सामग्री कक्ष र अन्य विभिन्न कक्षहरू रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ ।