अखिल (क्रान्तिकारी)को एकता भेला बत्ति बालेर सम्पन्न

स्ववियु निर्वाचनमा पहिलो संगठनको दाबी

काठमाडौं,माघ २५ । स्ववियु निर्वाचनको व्यापक तयारीमा जुटेको माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले आज एड्भान्स ईन्जिनियरिङ कलेज इकाइ समितिको एकता भेला सम्पन्न गरेको छ ।

अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले बत्तिको स्विच अन गरेर उक्त एकता भेलाको उद्घाटन गरेका थिए । अध्यक्ष न्यौपानेका अनुसार उज्यालो नेपालको प्रतिक स्वरुप उक्त कार्यक्रमको बत्ति बालेर उद्घाटन गरिएको हो ।

एड्भान्स ईन्जियरिङ कलेज इकाइ समितिको आयोजनामा सम्पन्न उक्त एकता भेलाले व्यपाक छलफल र वहसपछि अजय झाँको संयोजकत्वमा ११५ सदस्यीय समिति गठन गरेको छ ।

एकता भेलालाई सम्बोधन गर्दै क्रान्तिकारीका अध्यक्ष न्यौपानेले आसन्न स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी देशव्यापी रुपमा पहिलो नम्बरको संगठन हुने दाबी गरेका छन ।

न्यौपानेले हरपल नेपालसँग कुरागर्दै भने–‘हामी स्ववियु निर्वाचनमा आफ्नो शैक्षिक,राजनीतिक एजेन्डा सहित प्रचार प्रसारमा होमिएका छौ । सबै क्याम्पसहरुको तत्कालीन अवस्थाको रिर्पोटलाई हेर्दा हाम्रो संगठन पहिलो नम्बरमा आउने देखिन्छ । हामीले अत्याधिक बहुमत सहित पहिलो संगठनको रुपमा स्थापित गर्न खोजेका छौ । सबै क्याम्पसहरुमा साथीहरु व्यापक तयारीमा जुट्नु भएको छ । हाम्रो जित निश्चीत छ ।’

उनले शैक्षिक ऋण,पार्ट टाइम रोजगार,गुणस्तरिय र वैज्ञानीक शिक्षा निती,शिक्षामा एकरुपता लगाएतका शैक्षिक एजेन्डा सहित अखिल क्रान्तिकारी देशव्यापी रुपमा स्ववियु जित्ने अभियान सहित प्रचार प्रसारमा होमिएको बताए ।