उपचारमा सहयोग गर्न मिर्गौला रोगी महिलाको याचना

म्याग्दी, माघ २४ । दुवै मिर्गौलामा समस्या देखिएपछि आर्थिक अभावका कारण उपचार गराउन नसकेकी म्याग्दीकी एक महिला गरिबीका कारण मृत्युलाई कुर्नुपर्ने बाध्यतामा पुग्नुभएको छ । म्याग्दी बाबियाचौर–३ की ५० वर्षीया टीकाकुमारी शर्माले उपचार गराउने पैसा नभएपछि मृत्यु कुर्नुबाहेक अर्को विकल्प नभएको बताए । शर्माले सहृदयी व्यक्तिसँग उपचारका लागि सहयोगको याचना गरेका हुन ।

एक वर्षअगाडि दुवै मिर्गौलामा खराबी देखिएपछि घरको सम्पत्ति र ऋण खोजेर उपचार गराइरहेकी शर्माको थप उपचारमा आर्थिक अभाव भएपछि सहयोग गरी जीवन बचाइदिन अनुरोध गरे। “घरमा भएको पैसा सकियो, उपचारमै दुई लाखभन्दा धेरै ऋण लागेको छ”, टीकाकुमारीका श्रीमान् योगनाथ शर्माले भने ।

शर्माका ६ छोरी र एकजना छोरा रहेका छन् । दुई छोरी र एक छोराको शिक्षा–दीक्षाका साथै घरायसी खर्चसमेत जुटाउनुपर्ने अवस्थामा श्रीमती बिरामी भएपछि चिन्तित बनेका शर्माले आर्थिक अभावकै कारण गरिब परिवारले मृत्यु रोज्नुपर्ने बाध्यतालाई आफ्नो परिवारले समेत सामना गरिरहेको बताए । गाउँकै आर्थिक रुपमा कमजोर परिवारमा पर्ने शर्माले श्रीमतीलाई उपचार गर्न घरमा भएको सबै सम्पत्ति बेच्दासमेत एक छेउ नहुने भएपछि सहयोगका लागि याचना गरे ।

जिल्ला अस्पताल म्याग्दी हुँदै काठमाडाँैको ओम अस्पतालसम्म उपचारमा पुगेका शर्माले श्रीमतीको तीनपटकसम्म डायलोसिस गरे पनि थप उपचारका लागि रकम अभाव भएको गुनासो गरे । सरकारले निःशुल्क भनेका सेवासुविधा लिनसमेत सकस भइरहेको पीडित परिवारको गुनासो छ ।

यसैबीच शर्माको उपचारमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । रासस