गुल्मीमा विप्लव निकट विद्यार्थीहरुले तीन दलिय सिण्डिकेट विरुद्ध पज्ञापन पत्र बुझाए

‘माग पुरा नगरे आन्दोलन गर्ने चेतावनी’

गुल्मी,माघ २३ । विप्लव निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन(क्रान्तिकारी)ले स्ववियु निर्वाचनको सन्दर्भमा तीन दलिय सिण्डिकेट लगाइएको भन्दै रेसुङ्गा बहुमुखी क्याम्पस प्रशासनलाई २६ बुदे मागपत्र बुझाएको छ ।

अखिल क्रान्तिकारीको रेसुङ्गा बहुमुखी क्याम्पस अध्यक्ष माधव पाण्डेको नेतृत्वमा गएको विद्यार्थीहरुको टोलीले क्याम्पस प्रशासनले स्ववियु निर्वाचनको मुखमा आएर गरीब,जनजाति,उत्पिडित,दलित,अनुशासित,लगनशील बिद्यार्थीहरुले पाउनुपर्ने छात्रावृतिको चरम दुरुपयोग गर्दै केही ठेकेदार र डन भन्नेहरुलाई एकलौटी ढङ्गले वितरण गरेको तथा तीन दलिय सिण्डिकेट लागु भएको भन्दै त्यसको खारेजी गर्नुपर्ने मागगर्दै उक्त ज्ञापन पत्र बुझाएका हुन ।

अखिल क्रान्तिकारी गुल्मी जिल्ला अध्यक्ष मुक्ति गैंरेले हरपल नेपालसँगको कुराकानीमा विद्यार्थीहरुले स्ववियु निर्वाचनको मिति नजिकिदै जादाँ क्याम्पस हातामा तीन दलिए सिण्डिकेट हाबी भएको र त्यसलाई क्याम्पस प्रशासनले समेत संरक्षण गरेको भन्दै विभिन्न २६ बुँदाहरुमा सुधारको माग गर्दै ज्ञापन पत्र बुझाएको बताए ।

उनले क्याम्पस प्रशासनले विद्यार्थीहरुको जायज मागलाई सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य हुने भन्दै क्याम्पस प्रशासनले स्ववियु निर्वाचनको लागि सौहार्दपूण वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

विद्यार्थीहरुले क्याम्पस प्रशासनलाई बुझाएको उक्त मागपत्रमा पार्ट टाईम जबको रुपमा हेलमेट भिरेर आउने र टिचर जस्तो प्रवृति देखाउने संगठनहरुलाई क्याम्पस प्रशासनले संरक्षण गरेको भन्दै त्यसको विरोध जनाइएको छ ।

उक्त ज्ञापन पत्रमा २०७३ पुस ५ गते क्याम्पस प्रशासनले एकलौटी ढङ्गबाट बढाएको शुल्क वृद्धि तुरुन्तै रोक्नु पर्ने तथा विगतमा लिदै आएको शुल्कमा रु २०५ कटौटी गरिनुपर्ने,कक्षा विभाजन वैज्ञानिक ढङ्गबाट हुनुपर्ने,विद्यार्थीहरुको स्वस्थ्यलाई मध्य नजरगर्दै क्यान्टिनको गुणस्तरीयता,खाजा र शुद्ध पिउने पानीको व्यवस्था,शौचालयको व्यवस्थापन,उच्च शिक्षाका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य,वि.वि.ए. ,वि.एड.,एम.बि.एस. तथा विज्ञान लगायतका पठन पाठनको व्यवस्था,पुस्तकालयमा प्रयाप्त मात्रामा पुस्तकको व्यवस्था गर्नुपर्ने गलाएतका मागहरु पुरागर्न आग्रह गरिएको छ ।

अखिल क्रान्तिकारीको जिल्ला उपाध्यक्ष समेत रहेका पाण्डेद्धारा हस्ताक्षरीत विज्ञप्तीमा विगत २ बर्षदेखि बन्द रहेको लाईब्रेरी सेवाको छानबिन गरि पारदर्सी ढङ्गले संचालन गरिनुपर्ने,विद्यार्थी खेलमैत्री वातावरण निर्माण गरिनुपर्ने,क्याम्पसको आय व्याय प्रत्येक बर्ष सार्वजनिक गर्दै आर्थिक अनियमित रोक्न ठोस कार्ययोजना सार्वजनिक गरिनुपर्ने,छात्रा र अपांगमैत्रि शौचालय निर्माणगर्दै नियमितताको अन्त्यगर्न समेत माग गरिएको छ ।

उक्त मागपत्र बुझ्दै क्याम्पस प्रमुख हरीबहादुर खत्रीले मागको विषयमा सक्दो पहलगर्ने र सबै संठनहरुलाई समान व्यवहार गर्ने प्रतिबद्धता जनाएका थिए ।