निर्धारीत मितिमा निर्वाचन नगरे प्राप्त उपलब्धी गुम्ने खतराः काँग्रेस नेता सिंह

निर्वाचनको घोषणा गर्न माग

काठमाडौँ,माघ २२। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले जेष्ठभित्रै स्थानीय निकायको निर्वाचन गर्नका लागि आन्तरिक तयारीमा ध्यान दिनुपर्ने बताएका छन । उनले तत्काल स्थानीय निकायको निर्वाचन घोषणा गर्न नसके प्राप्त उपलब्धीहरु पनि गुम्ने खतरा भएको बताए ।

आज किङकम स्पोर्टस क्लबले आयोजना गरेको उपत्यकास्तरीय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन कार्यक्रमा सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन ।

निर्वाचनको घोषणामा ढिलाइ गरेमा त्यो कुरा कांग्रेसलाई मान्य नहुने र त्यसले सरकार निर्वाचन गर्न तयार नभएको भन्ने संन्देश जाने समेत बताए ।
उनले तीन तहको निर्वाचन गर्नको लागि सरकारसँग समय अत्यन्त कम रहेको तर्फ संकेत गर्दै निर्वाचनमा ढिलाइ गरे आजसम्मको सबै उपलब्धीहरु गुम्न सक्ने अवस्था समेत आउन सक्ने तर्फ सचेत बनाए ।

किङकम स्पोर्टस क्लबले आयोजना हुन लागेको उक्त उपत्यका स्तरीय ब्याडमिनटन प्रतियोगिता १५ दिनसम्म चल्ने छ । जस्मा काठमाडौँ उपत्यकाका ३६ टोलीले भाग लिएको आयोजकले जनाएको छ ।