निर्वाचन आयोग जेष्ठ महिनाभित्र निर्वाचन गराउने प्रतिबद्धता सहित तयारीमा लाग्योः प्रमुख निर्वाचन आयुक्त यादव

विभिन्न दलसँग सहकार्य गरेर अघिबढ्न सरकारलाई सुझाव

काठमाडौँ, माघ २२। निर्वाचन आयोगले आगामी जेठ महिना भित्रै निर्वाचन गराउने प्रतिबद्धता जनाएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले सरकारले बिहीबार गरेको निर्णयपछि मुलुकमा निर्वाचनको वातावरण तयार भएको र निर्वाचन आयोगले आफ्नो सबै प्रकारको गर्न सुरु गरेको बताएका छन ।

शुक्रबार आयोजित एकअन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णयले निर्वाचनका लागि तयारी गर्न बाटो खुलेको र आयोग तयारीमा लागिसकेको भन्दै त्यस्तो बताएका हुन ।

उक्त अन्तक्र्रिया कार्यक्रममा डा. यादवले स्थानीय निर्वाचनका लागि मतदान केन्द्र कहाँ राख्ने, मतदान अधिकृत कसरी खटाउने, मतपत्र कस्तो हुने र कसरी छाप्ने लगायतका कुरा टुङ्गो लगाउन सरकारले पठाउने पत्र हेरेपछि मात्रै थप कुरामा निर्णय लिन सकिने समेत बताए ।

उनले चुनावसम्बन्धी बाँकी काम तत्काल गर्नका लागि सरकारलाई विभिन्न दलसँग सहकार्य गरेर अघिबढ्न समेत उनको सुझब रहेको छ । यादवले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नहुनु दुःखद् भएको बताउँदै सो आयोगको प्रतिवेदन समयमै पाए मतदानस्थल कहाँ राख्नेलगायत प्राविधिक विषयमा निर्णय लिन सजिलो हुने बताए ।

उनले भने–‘सरकारले भनेकै मितिमा चुनाव गर्न सकिन्छ । सरकारले मिति नतोकी चुनावको तयारी गर्न पठाएको पत्रले केही अन्योल थपेको छ त्यसलाई अझ स्पष्ट पारोस,हामी दिनरात खटेर भएपनि निर्वाचनको तयारीमा लाग्छौ । निर्वाचनका लागि करिब चार महिनाको समयावधि आवश्यक पर्दछ, भन्ने बित्तीकै सबै तयारी गर्नु सम्भव हुदैन त्यसैले सरकारले त्यता तिरपनि ध्यान दिनुपर्दछ ।’

उनले एकै दिनमा सबै क्षेत्रको निर्वाचन गर्न सम्भव नहुने भन्दै सरकारलाई दुई वा तीन चरणमा प्रत्यक्ष चुनाव गर्नुपर्ने सुझाव समेत दिएका छन ।

मुलुकमा स्थानीय निर्वाचन नभएको करिब १९ वर्ष र स्थानीय निकाय जनप्रतिविहीन भएको करिब १४ वर्ष पछि चुनाव हुने तयारी हुन लागेको छ । प्रजातन्त्र पुनःस्थापनापछि विसं २०४९ र २०५४मा स्थानीय निकायको निर्वाचन भएकामा पछिल्लो निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिको कार्यावधि विसं २०५९मा सकिएको थियो ।