स्ववियुमा तीन दलिय सिन्डिकेट लागु भएको भन्दै दश विद्यार्थी संगठन विरोधमा

आज त्रिविलाई तीन बुँदे ज्ञापनपत्र बुझाए

काठमाडौं,माघ २१ । काँग्रेस,एमाले र माओवादी केन्द्र निकटका विद्यार्थी संगठनहरुले सबै दलको सहमतिमा स्ववियुकाको निर्वाचन तालिका आएको र चुनाव हुनेमा विश्वस्त रहेको बताएपनि विभिन्न दश विद्यार्थी संगठनहरुले भने स्ववियुमा तीन दलिय सिन्डिकेट लागु भएको भन्दै विरोध जनाएका छन ।

दश विद्यार्थी संगठनको हिजो बसेको संयुक्त बैठकले त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको लागि घोषणा गरेको कार्यतालिका तीन दलीय सिण्डिकेटको आधारमा आएको भन्दै त्रिविले आफ्नो त्रुटि नसच्याए संयुक्त रुपमा विरोध गर्ने निष्कर्ष निकालेको हो ।

दश विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचनको सन्दर्भमा देखिएका त्रुटिहरु औल्याउदै आज संयुक्त रुपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थराज खानियालाई तीन बुँदे ज्ञापनपत्र बुझाएको छन ।

विप्लव माओवादी निकटको अखिल क्रान्तिकारीका अध्यक्ष पूर्ण सिंह,नयाँ शक्ति विद्यार्थी युनियनका संयोजक रमेशकुमार महतो,समाजवादी विद्यार्थी फोरम नेपालका अध्यक्ष विवेक राई,वैद्य माओवादी निकटको अखिल क्रान्तिकारीका संयोजक सेवन्त भण्डारी,संघिय विद्यार्थी युनियनका सह संयोजक मृगेन इङनाम,नेपाल विद्यार्थी मंञ्चका अध्यक्ष लालबावु शाह,तराई मधेस विद्यार्थी फ्रन्टका अध्यक्ष मनिष मिश्रा,समाजवादी विद्यार्थी संघका उपाध्यक्ष रामविर यादव,विद्यार्थी मञ्चका कोषाध्यक्ष सुवन यादव र नेपाल लोकतान्त्रीक विद्यार्थी फ्रन्टका अध्यक्ष जेपि यादवले संयुक्त रुपमा हस्ताक्षर गर्दै उक्त तीन बुँदे ज्ञापन पत्र बुझाएका हुन ।

उक्त ज्ञापन पत्रमा त्रिविले २८ बर्षे उमेरको हद लागु गरेको विषयलाई स्वागत गरिएको छ,साथै सबै संगठनहरुलाई स्ववियु निर्वाचन सहभागी गराउनको लागि सौहार्दपूर्ण वातावरण बनाइदिन त्रिविलाई अनुरोध गरिएको छ ।

उनीहरुले हाल ल्याइएको मिश्रीत निर्वाचन प्रणालीले समानुपातिक प्रणालीको मर्म बोध गर्न नसक्ने भएकाले त्यसलाई सच्याउन माग गरेका छन ।
उक्त ज्ञापनपत्रमा उनीहरुले सिनेट र अन्य महत्वपूर्ण प्रकृयामा रहेका संगठनहरुको सिण्डिकेट तत्काल अन्त्य गर्नुपर्ने,चुनावसँगै हुने गरिएका एकमुष्ट भर्ना तत्काल खारेज गर्नुपर्ने र सबै संगठनहरुलाई समेटेर निर्वाचनको वातावरण मिलाउनु पर्ने लगाएतका मागहरु राखिएको छ ।