स्थानीय निकायको निर्वाचनबाट राप्रपा पहिलो शक्ति बन्छः पूर्वमन्त्री चन्द

बैतडी, माघ २१ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्ववाणिज्य मन्त्री जयन्तबहादुर चन्दले राप्रपा स्थानीय निकायको निर्वाचनबाट जनताको मन जितेर पहिलो शक्ति बन्ने बताएका छन ।आज बैतडिमा राप्रपा पाटन नगर अधिवेशनमा सम्बोधन गर्दै पूर्वमन्त्री चन्दले त्यस्तो बताएका हुन ।

उनले स्थानीय निकायको निर्वाचनमा सरकारले ध्यान दिनुर्पे र चुनावी माहोलको तयारीमा लाग्नु पर्ने समेत बताए । उनले आर्थिक प्रलोभनमा धर्म परिवर्तन गर्ने खेल भइरहेको र यसलाई रोक्नका लागि राप्रपा लागिपरेको भन्दै “ठूला राजनीतिक दलले जनतालाई धोका दिएकाले अब राप्रपा वैकल्पिक शक्तिका रुपमा उदय हुन्छ ।” भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्यसमेत रहेका चन्दले बैतडीको विकासका लागि आफू लागिपरेको र आफुले केन्द्रबाट कोसिस गरिरहेको बताए ।

३१ सदस्यीय पाटन नगरसमिति गठन,अध्यक्षमा बोहरा

अधिवेशनले गजेन्द्रबहादुर बोहराको अध्यक्षतामा ३१ सदस्यीय नगरसमिति पनि गठन गरेको छ । समितिको उपाध्यक्षमा दानसिंह बिष्ट र लक्ष्मी बिष्ट, सचिवमा मानसिंह बिष्ट, कोषाध्यक्षमा हिरा बिष्टलगायत अन्य सदस्यहरु रहेका राप्रपाले जनाएको छ ।

पुर्व मन्त्री समेत रहेका चन्दले हिजो दशरथचन्द नगरपालिकाको नगरअधिवेशन पनि उद्घाटन गरेका छन ।उक्त नगरपालिकाको अधिवेशनले आजसम्म चल्ने र त्यसले नगरसमिति चयन गर्ने बताइएको छ ।