अभिभावकको घरमा भोट माग्न जानेको लर्को

काठमाडौं,माघ २१ । रुपन्देहीको मर्यादापुर माध्यमिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको घरमा भोट माग्न जानेको लर्को लागेको एक साता भयो ।

विद्यार्थीलाई अंग्रेजी माध्यममा पढाउने, भवन राम्रो बनाउनेसहितका एजेन्डा सुनाउँदै भोट मागिएको छ । माघ २४ गते हुने विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा उमेद्वारी दिएकाहरुले चुनावी प्रचार तीव्र पारेका छन् । माघ १२ गते भएको अभिभावक भेलाले सहमतिमा समिति चयन गर्न नसकेपछि चुनावको मिति तोकिएको हो ।

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष राजकुमार धवलले भने, ‘निर्वाचनको मिति तोकिएपछि विद्यालयमा पढाइ भएको छैन । शिक्षकसमेत प्यानलको समर्थन गर्दै प्रचारमा छन् ।’

शिक्षा विभागले माघ मासान्त भित्रै विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन दिएपछि जिल्लाका विद्यालयमा चुनावी माहोल बनेको हो । शिक्षा क्षेत्रलाई राजनीतिबाट टाढै राख्ने भनिए पनि स्थानीय निकायको चुनावी ‘रिहर्सल’ अहिले विद्यालयमा भइरहेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।