पार्टी सभापति देउवाको निर्देशनसँगै नेविसंघले स्ववियु निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्यो

त्रिविको स्ववियु सम्बन्धी निति र विधान मान्ने

काठमाडौँ,माघ २०। त्रिभुवन विश्वविद्यालयद्धारा स्ववियु निर्वाचन गर्ने विषयमा जारी गरिएको २८ वर्षीय उमेर हदको विषयमा नेपाल विद्यार्थी संघभित्र निर्वाचनमा सहभागि हुने वा नहुने भन्दै चुलिएको विवाद आज बाट साम्य भएको नेविसंघले जनाएको छ । सिंगो संगठनलाई स्ववियु निर्वाचनको तयारीमा लाग्न पार्टीबाट निर्देशन भएपछि उसले  त्यस्तो बतााएको  हो ।

नेविसंघ भित्र निर्वाचनमा उमेरको दहका विषयमा विवाद चुलिएपछि आज नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा सभापति शेरबहादुर देउवाले विद्यार्थी नेताहरुलाई बोलाएर छलफल गर्ने क्रममा त्यसतो सिंगो नेविसंघलाई स्ववियुको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका हुन ।

नेविसंको उक्त बैठकमा पार्टी सभापति देउवाले २८ वर्ष कटिसकेकालाई पार्टीले थप जिम्मेवारी दिने बताउँदै हाललाई निर्वाचनमा जित्ने गरी केन्द्रित भएर अघिबढरन निर्देशन गरे ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले आज एक विज्ञीती जारी गर्दै नेपाली कांग्रेसका पदाधिकारी,नेविसंघका भुतपूव अध्यक्षहरु र वर्तमान पदाधिकारीहरु सहित उपत्यकाका क्याम्पस इकाई अध्यक्षहरुको संयुक्त बैठकले सिंगो संगठन स्ववियु निर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको बताएका छन ।

महरद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ–‘त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको कार्य तालिका प्रकाशन गरिसकेकाले उमेर समूह प्रणालीका बारेमा कुनै द्धिविधामा नरहेर हाल त्रि.वि.ले लागु गरेको विधि र विधान अनुसार चुनावमा जान पार्टीले निर्देशन गरेको छ । प्रकाशन भएको स्ववियुको कार्यतालीका अनुसार निर्वाचन हुनेमा हामीहरु विश्वस्त छौ ।’

नेविसंघले शैक्षिक रुपानतरण,गुणस्तरिय शिक्षा र व्यवहारिक शिक्षा एवं संविधान कार्यान्वयन गराउने जस्ता एजान्डा सहित स्ववियु निर्वाचनमा होमिने बताएको छ । उसले आम विद्यार्थीहरुमा नेविसंघलाई अत्याधिक मतले विजय गराउन आग्रह समेत गरेको छ ।

कांग्रेस संसदीय दलको कार्यालयमा बसेको उक्त बैठकमा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री शसांक कोइराला, उपप्रधानमन्त्री समेत रहेका नेता विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइरालालगायतको सहभागिता रहेको थियो ।

नेविसङ्घले एक पटक उमेर हद हटाएर प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने मागसहित एक सातादेखि विरोधका कार्यक्रम गर्दै आएको थियो । त्रिविले आगामी फागुन १४ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकीसकेको छ ।