स्थानीय निकायको निर्वाचन जेष्ठ १० भित्र हुनेः निर्वाचन आयोगलाई तयारीमा लाग्न निर्देशन

विवादित विषय हल गर्न तीन सदस्यीय कार्यदल निमार्ण

काठमाडौं,माघ २० । नेपाल सरकारको मन्त्रीपरिषद बैठकले स्थानीय तहको निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई आउदो बैशाख मसान्तदेखि जेठको १० गतेभित्र स्थानीय तहको निर्वाचन गर्नका लागि आफ्नो सम्पूर्ण तयारी गर्नका निर्देशन गर्ने निर्णय गरेको छ ।

बिहीबार अपरान्ह बसेको मन्त्रीपरिषदको बैठकले निर्वाचन आयोगलाई त्यसबारेमा लिखित निर्देशन दिने निर्णय गरेको हो ।

सरकारले आयोगलाई निर्वाचनको तयारी गर्न निर्देशन दिएसँगै स्थानीय तहको निर्वाचनबारे अन्यौलता हटेको छ ।

स्थानीय तह पूनर्संरचना आयोगले पेश गरेको प्रतिवेदनबारे सुझाव दिनका लागि उक्त बैठकले एक कार्यदल पनि बनाएको छ । नयाँ गठित उक्त कार्यदलको संयोजकमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे रहेका छन भने सदस्यहरुमा आपूर्ति मन्त्री दीपक बोहरा र उद्योगमन्त्री नबीन्द्रराज जोशी रहेका छन।

उक्त कार्यदललाई मूख्यतः २ नम्वर प्रदेशको स्थानीय तह निर्धारणबारे सुझाव दिन भनिएको सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले बताएका छन ।