कडा कानुन बनाएर अपराधको अन्त्य गर्न सकिन्छ– काँग्रेस नेत्री कोइराला

कानुनको पालनाले मात्र दण्डहीनताको अन्त्य हुन्छ

काठमाडौँ, माघ २० । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले देशमा कडा कानुन बनाएर अपराध र आतङ्कवाद अन्त्य गर्न सकिने बताएकी छन ।

काठमाण्डौंमा आज जिपी कोइराला फाउन्डेसनद्वारा आयोजित ‘साइवर अपराधसम्बन्धी एक दिवसीय सचेतनामूलक कार्यक्रम’मा बोल्दै उनले त्यस्तो बताएकि हुन ।

काँग्रेस नेत्री सुजाताले बलियो कानुन र त्यसको पालनाले मात्र देशमा दण्डहीनताको अन्त भई समृद्धितर्फको यात्रा सहज हुने विचार व्यक्त गरेकी छन ।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक तथा साइबर अपराधका जानकार पशुपति रायले साइबर अपराधसम्बन्धी विभिन्न घटनाको विवरण र अपराधको कारणहरु प्रष्ट्याउदै अपराधीबाट जोगिने उपायको विषयमा जानकारी गराए । उनले सामाजिक संजाल प्रयोगकर्ताहरुले आफ्नो पासवर्ड हल्का चिनजानको भरमा कसैलाई दिनुनहुने समेत बताए ।

अनलाइनमार्फत चाइल्ड सेक्स टुरिज्मका सङ्गठित अपराधीले बालबालिकालाई पञ्जामा पार्ने चलखेल गरिरहेकामा सचेत रहन आग्रह गरे । उक्त कार्यक्रममा उपस्थिति विद्यार्थीहरुले साइबर अपराधबारे विभिन्न खालका जिज्ञासा राखेका थिए ।