लोकसेवाको सर्भरमा समस्या आएपछि सुब्बाको फारम भर्न गएकाहरु आन्दोलित,फारम भर्ने म्याद थप्न माग

आयोगले गल्ती स्वीकादै फारम भर्ने म्याद तीन दिन थप्यो

काठमाडौँ, माघ १८ । आज लोकसेवा आयोगको सर्भरमा समस्या आएपछि राजपत्रअनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) को लागि आवेदन फारम भर्न जम्मा भएका आवेदकहरु आन्दोलित भएका छन ।

उनीहरुले बिहानदेखि फर्म भर्ने लाइनमा बसेर अन्तिममा सर्भर बिग्रेकोे कारण आफ्नो फारम भर्न छुट्ने अबस्था आएको भन्दै आयोगको कार्यालय अगाडि नाराबाजी गरेका हुन ।

आयोगले आह्वान गरेको उक्त पदको लागि आज फारम भर्ने अन्तिम दिन भएकाले आज अरुदिन भन्दा आवेदकहरु बढि सख्यामा रहेका थिए ।

आयोगले गत पुस २७ गते दरखास्त आह्वान गरिएको उक्त पदको लागि आज सुरु दस्तुरमा फारम भर्ने अन्तिम अवधि थियो । आयोगले दोब्बर दस्तुरमा भने माघ २५ गतेसम्म फाराम भर्न समय पनि बताएको भएपनि आवेदकहरु भने सुरुकै दस्तुरमा फारम भर्न पाउनुपर्ने माग राख्दै आन्दोलित भएका हुन ।

उनीहरुले आक्रोपूर्ण रुपमा नारा लगाउदै फारम भर्ने म्याद थप्न माग समेत गरेका थिए ।
हरपल नेपालसँग कुरा गर्दै उनीहरुले आयोगको प्राविधीक समस्याका कारण आफुहरुले फारम भर्न नपाएको भन्दै त्यस्तो बताएका हुन ।

लोकसेवा आयोगले नासु पदको लागि चार सय ५६ जनाको माग गरेकोमा आजसम्म २१ सय भन्दा बढिले फारम भरिसकेको आयोगले जनाएको छ ।

आयोगले गल्ती स्वीकादै फारम भर्ने म्याद तीन दिन थप्यो

लोकसेवा आयोगले आफ्नो प्राविधीक समस्याको कारण आवेदकले फारम भर्न नपाएको गुनासो गरेपछि थप तीन दिनको लागि म्याद थपेको जनाएको छ ।

आयोगले आज अन्तिम दिन भएकाले अनलाइनमार्फत फाराम भर्ने आवेदकहरु धेरै भएको र आफ्नो फाराम भर्ने सर्भरमा समस्या देखिएकाले यही माघ २८ गतेसम्म तीन दिन म्याद थप गरिएको जनाएको हो ।

लोकसेवा आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले हरपल नेपालसँग कुरा गर्दै भने–‘आज सुरुको दस्तुरमा फारम भर्ने अन्तिम दिन थियो । आवेदकहरु धेरै हुनुहुन्थ्यो,हाम्रो सर्भरमा समस्या आएकाले सबैको फारम बुझ्न सकेनौ त्यसैले उहाँहरुले केहिबेर नाराबाजी समेत गर्नुभयो । तर आयोगले फारम भर्न छुटेका सबैलाई पुन तीन दिनको म्याद थप गरिसकेको छ । हामीले हाम्रो प्राविधीक समस्याको कारण फारम भर्न कसैलाई छुटाउन मिल्दैन ।’

प्रवक्ता कोइरालाले थप गरिएको म्याद अनुसार सुरु दस्तुरमा आगामी शुक्रबार भित्र फारम भर्नुपर्ने र दोब्बर दस्तुरको लागि फारम भर्ने अन्तिम माघ २८ गते भएको समेत स्पष्ट पारेका छन ।