स्ववियु निर्वाचनको चहलपहल बढ्यो-चुनाव आउन एक महिना बाँकी

विद्यार्थी सङ्गठनका चुनाव केन्द्रित गतिविधिमा बेस्त

काठमाडौँ, माघ १४ । आसन्न स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन नजिकिँदै गर्दा क्याम्पसमा चहलपहल बढेको छ । चुनाव आउन एक महिना मात्र बाँकी छँदा राजधानीका मुख्य क्याम्पसमा विभिन्न विद्यार्थी सङ्गठनका चुनाव केन्द्रित गतिविधि बढेका छन् । सङ्गठनहरुले निर्वाचनमा मतदाता आफ्नो पक्षमा पार्नका लागि क्याम्पसमा सहयोगी कक्ष स्थापना गर्ने, विद्यार्थी भर्ना, भेला बैठकजस्ता चुनाव केन्द्रित गरिरहेका छन् ।

विद्यार्थी सङगठनबीच निर्वाचनका लागि उम्मेदवारको उमेरको हदबन्दी २८ वर्ष र मिश्रित निर्वाचनमा प्रणालीका बारेमा सहमति भएपछि निर्वाचन हुने निश्चित भएपछि क्याम्पसमा सरगर्मी बढेको हो । त्रिभुवन विश्वविद्यालयमा आठ वर्षपछि हुन थालेको स्ववियु निर्वाचनमा आफ्नो पक्षमा नतिजा पार्नका लागि विद्यार्थी सङ्गठन प्रचारात्मक कार्यमा समेत जुटिसकेका छन् ।

उनीहरुले क्याम्पसका भित्तामा निर्वाचन लक्षित भित्तेलेखन पनि सुरु गरिसकेका छन् ।