थबाङ र माओवादी-सन्दर्भ नेकपा माओवादीको फागुनमा हुने ८ औँ महाधिवेशन

महाधिवेशन – पार्टी जीवनको समीक्षा गर्दै भावी दिशा तय गर्ने अभियान हो

हरपल नेपाल -नेपालको राजनीतिमा रोल्पाको थबाङको विशेष चर्चा हुने गरेको छ । चाहे पञ्चायतविरुद्धको सङ्घर्ष होस्, चाहे बहुदलीय शासनकालको विरुद्धको सङ्घर्ष नै किन नहोस्, थबाङ विशेष केन्द्रीय चर्चाको विषय बन्दै आएको छ । पञ्यायती निर्वाचनदेखि २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनको नतिजाले पनि थबाङलाई केन्द्रमै उभ्याइदियो । आमूल परिवर्तनको पक्षमा उभिँदै आएको थबाङ जनयुद्धकालको केन्द्र बन्यो । जनयुद्धकालमा थबाङले प्रतिक्रियावादी राज्यसत्ताको अमानुषिक यातना व्योहोर्नुपर्यो तर पनि थबाङ सतिसाल भएर उभिरह्यो । पुनः एकपटक थबाङ चर्चाको शिखरमा रहेको छ । कारण, नेकपा (माओवादी) को ८औँ महाधिवेशनको बन्दसत्र थबाङमा नै फागुन ५ देखि १० गतेसम्म हुँदैछ । अहिले सबैको ध्यान थबाङले तानिरहेको छ । थबाङ महाधिवेशनपछि नेपालको राजनीतिले नयाँ मोड लिने अनुमान गरिँदैछ । नेपाली क्रान्तिलाई कसरी पूर्णता दिन सकिन्छ ? विश्वमा समाजवादी व्यवस्थालाई किन टिकाउन सकिएन र के के गरियो भने टिकाउन सकिन्छ भन्ने विषयमा यो महाधिवेशन केन्द्रित हुँदैछ । क्रान्ति गर्न सकिने तर टिकाउन नसकिने कारण के होला आदि विषय अहिले चर्चामा छन् । क्रान्ति गर्ने कुरा मात्र ठूलो होइन रहेछ, ठूलो कुरा त त्यसलाई टिकाउनु, त्यसको संस्थागत विकास गर्नु, देश र जनतालाई स्वशासकीय भूमिकामा स्वर्णास्थानमा स्थापित गर्नु रहेछ । माओवादीको आसन्न ८औँ महाधिवेशन त्यही दिशा केन्द्रित हुँदैछ ।

खेम थपलिया

अहिले विभिन्न कोणबाट बहसको छाल उठिरहेको छ । मुख्यतः के–कसरी नेपाली क्रान्तिलाई सम्पन्न गर्न सकिन्छ भन्ने विषयकै वरिपरि बहस घुमेको छ । विभिन्न व्यक्ति तथा समुदायले विभिन्न माध्यमबाट सुझाव दिनेक्रम पनि जारी छ । महाधिवेशन भनेको पार्टी–जीवनको समीक्षा गर्दै भावी दिशा तय गर्ने अभियान हो । एकीकृत जनक्रान्तिलाई सफल पार्न यो महाधिवेशन कामायावी हुनुपर्ने ऐतिहासिक दायित्व पनि हामी सबैका सामु छँदैछ ।

अहिले बृहत् बहससहित क्रान्तिका लागि माओवादीे ८औँ महाधिवेशनमा जुटेको छ । उसले करिब–करिब सबै जिल्ला सम्मेलन भव्यताका साथ सम्पन्न गरिसकेको छ । माओवादीले ८औँ महाधिवेशनका लागि ‘संसद्वाद, आत्मसमर्पणवाद र विसर्जनवादका विरुद्ध सङ्घर्ष गरौँ ! माक्र्सवाद–लेनिनवाद–माओवादको विकास गरौँ !!’ लाई मुख्य नारा तय गरेको छ । यसबाट पनि सो पार्टीले राजनीतिक, सैद्धान्तिक तथा दार्शनिक रूपमा कति महत्व दिएको रहेछ भन्ने कुरा बुझ्न सकिन्छ । ८औँ महाधिवेशनको उद्घाटन काठमाडौंको खुलामञ्चमा फागुन १ गते जनयुद्ध विदसको सन्दर्भ पारेर लाखौँ जनसमुदायका बीचमा हुँदैछ ।

नेकपा (माओवादी) ले महाधिवेशनमा केही महत्वपूर्ण सैद्धान्तिक महत्वका विषयमा बृहत् छलफल गरेर निचोड दिंदैछ । उसको जोड माक्र्सवाद–लेनिनवाद–माओवादको विकासमा रहेको देखिन्छ । पार्टीमा यस्तो बहस हुनु अनिवार्य मात्र होइन, स्वाभाविक पनि हो । बहसका केही विषयलाई यहाँ सङ्क्षिप्त चर्चा गर्नु उपयुक्त नै हुनेछ ।

१. दर्शनबारे

माक्र्सको आफ्नो थेसिसको ‘संसारलाई बुझ्ने र व्याख्या गर्ने मात्र होइन, र बदल्ने कुरा मुख्य हो’ भन्ने संश्लेषणलाई विश्वभरका कम्युनिस्टहरूले आत्मसात गर्दै आएका छन् । सारतः यो कुरा सही हो तर अब बदल्ने कुरा मात्र होइन कि अब त्यसको रक्षा गर्ने कुरा, त्यसको निरन्तर विकास गर्ने कुरा मुख्य भएर आएको छ । हरेक वस्तु एकको दुईमा विभाजन हुन्छ । माओले एकता–सङ्घर्ष–रूपान्तरणको रूपमा संश्लेषण गर्नुभयो । पार्टी भनेको विपरीतहरूको एकत्व हो र नेतृत्व भनेको विश्वास र आशङ्काको द्वन्द्ववाद हो । तर यहाँ प्रश्न उठ्छ कि के विपरीतहरूको एकत्व र पार्टी दुईलाइन सङ्घर्ष एकै हुन् ? अवश्य पनि होइनन् । पदार्थ गति र त्यसको शक्ति सञ्चितीकरण तथा शक्तिको प्रवाहलाई ठीक तरिकाले बुझ्न नसक्दा वा बुझाउन नसक्दा पार्टीमा ठूल–ठूला समस्याहरू आउने गरेका छन् । त्यसकारण इतिहासमा देखिएका वा भोगिएका परिघटनालाई दार्शनीकृत गर्दै यसको विकास गर्नु ८औँ महाधिवेशनको कार्यभार हो । साथै, केही समयअघिदेखि नेपाली राजनीतिमा उत्तर–साम्राज्यवादमाथि बहसले नयाँ स्वरूप ग्रहण गर्दै गएको छ । निगम पुँजीवाद, त्यसको भूमण्डलीय स्वरूप, सूचना प्रविधिको विकास, प्रतिस्पर्धात्मक राजनीति र नगर–समाजको विकासलगायत थुप्रै कारणले आजको विश्व लेनिन र माओकालीनभन्दा विकसित र भिन्नै भएकोले त्यसलाई उत्तर–साम्राज्यवाद भन्नुपर्छ भन्ने बहस एकातिर छँदैछ भने अर्कोतिर यो पदावलिको अध्ययन ठीकसित गरिनुपर्दछ, यसको स्रोत र उद्देश्यलाई पनि ठीकसित ठम्याउनुपर्दछ भन्ने बहस पनि अर्कोतिर जब्बर रूपमा उठिरहेकै छ ।

वास्तवमा उत्तर–आधुनिकतावादको सारतत्व माक्र्सवादको अन्त्यको घोषणा गर्नुभएजस्तै उत्तर–साम्राज्यवादको सारतत्व साम्राज्यवादको अन्त्यको घोषणा गर्नु हो । उत्तर–साम्राज्यवाद भनेको साम्राज्यवाद हिजो थियो, आज छैन भन्ने नै हो । पुँजीवादी–साम्राज्यवादीहरूले उत्तर–साम्राज्यवादलाई ‘फोर्थ पोलिटिकल थ्यौरी’ भनेका छन् । आजको साम्राज्यवाद भनेको वित्तीय पुँजीवादमा आधारित भूमण्डलीकृत साम्राज्यवाद नै हो । साम्राज्यवादसितको लडाइँमा संसारभरका क्रान्तिकारीहरूको निशाना यही भूमण्डलीकृत साम्राज्यवाद हो । माक्र्सवादको खिलाफमा, वर्गीय आन्दोलन, जनताको मुक्तिकामी सङ्घर्षलाई निस्तेज पार्न अनि पुँजीवादी–साम्राज्यवादीहरूले आफ्नो सङ्कटलाई नयाँ–नयाँ शिराबाट समाधान गर्न नयाँ–नयाँ पदावलीको निरन्तर प्रयोग गर्दै आइरहेका छन् । ‘उत्तर’ को अर्थ सिद्धिनु, सखाप हुनु, निस्क्रिय हुनु, काम नलाग्ने हुनु, प्रयोजनहीन हुनु, उत्तर अवधारणा आदि आदि हुन्छ । सन् ७० को दशकदेखि ‘उत्तर–साम्राज्यवाद’ को अवधारणा आएको हो । आज जसरी ‘उत्तर आधुनिकतावाद’ ‘उत्तर–उत्तर आधुनिकतावाद’ मा परिणत भइसकेको छ, त्यसैगरी साम्राज्यवादीहरूले नै चर्चामा ल्याएका ‘उत्तर–साम्राज्यवाद’ को चर्चाको औचित्य पनि सकिएको छ । यसकारण दर्शनको क्षेत्रमा यी र यस्तै यस्तै विषयमा सत्यान्वेषण गर्नु यो महाधिवेशनको महत्वपूर्ण कार्यभार हो ।

२. एकीकृत जनक्रान्तिबारे

कम्युनिस्ट कार्यदिशासम्बन्धी बहसको अन्तर्राष्ट्रिय आयाम छ । आज नेपालको कम्युनिस्ट आन्दोलनका अनेकन रूप–रङ छन् । यो कुरा पनि स्वाभाविक हो कि जनताले नेकपा (माओवादी) लाई जनयुद्धकारी शक्तिका रूपमा बुझेका छन् । आज माओवादी केन्द्रको ‘समाजवादी कार्यदिशा’ र नेकपा (क्रान्तिकारी माओवादी) को ‘जनयुद्धको जगमा जनविद्रोह’ कार्यदिशालाई नेकपा (माओवादी) को ‘एकीकृत जनक्रान्ति’ कार्यदिशाले कैयौँ पछाडि पारिसकेको छ । १० वर्षको जनयुद्ध पनि कार्यदिशाको बहसबाट अछूतो थिएन । नेपाली क्रान्तिलाई सफल पार्न जनयुद्धको विकास गर्नुपर्छ भन्ने धारणाबारे त्यतिखेर पनि बहस हुन्थ्यो । दोस्रो राष्ट्रिय सम्मेलनमा गरिएको फ्युजनको संश्लेषण कन्फ्युजनमा बदलिएपछि माओवादी जीवनको पछिल्लो चरणमा मूलतः तीन धार देखापरे– प्रचण्डहरूले लिएको ‘लोकतान्त्रिक गणतन्त्रको शान्तिपूर्ण संसदीय धार’, किरणहरूले लिएको ‘जनयुद्धको जगमा जनविद्रोहको यथास्थितिवादी पुच्छरवादी धार’ र नेकपा (माओवादी) ले लिएको ‘एकीकृत जनक्रान्तिको क्रान्तिकारी धार’ । ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशा एक्काइसौँ शताब्दीमा विकास भएको विश्व राजनीतिका विशेषताहरू र नेपाली समाजका विशेषताहरूको विश्लेषणका आधारमा गरिएको वैज्ञानिक संश्लेषण हो ।

नेपालको नयाँ जनवादी क्रान्तिको राजनीतिक कार्यदिशा ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशा हो । योसित फौजी कार्यदिशा परिपूरक छन् । माओले भनेजस्तै अनेकौँ सिद्धान्तहरूको सच्चाइ अपूर्ण छ र यो अपूर्णतालाई व्यवहारको कसीमा जाँचेर हटाइन्छ । अनेकौँ सिद्धान्तहरू गलत छन् र व्यवहारको कसीमा जाँचेर तिनका गल्तीहरूलाई सच्याइन्छ । नगर–समाज, नयाँ श्रमिकवर्ग, विज्ञान–प्रविधिको विकास, दलाल शक्तिको विकास मिश्रित जनबसोबास र देशभक्त शक्तिको उपस्थिति आदि कारणले क्रान्तिको नयाँ वैज्ञानिक कार्यदिशा एकीकृत जनक्रान्ति हो भन्न कुनै कन्जुस्याइँ गर्नुपर्दैन । एकीकृत जनक्रान्ति मालेमावादको अन्तर्वस्तुमा विकास भएको विश्वकै सबैभन्दा पछिल्लो क्रान्तिकारी कार्यदिशा हो । यसलाई थप समृद्ध गर्नु पनि ८औँ महाधिवेशन अर्को कार्यभार हो ।

३. नीति तथा प्रणालीको विकासबारे

कम्युनिस्ट पार्टीमा विपरीतहरूको एकत्व र सङ्घर्षको नियमलाई यान्त्रिक ढङ्गले लागू हुँदै आएको छ । वास्तवमा यो तरिका गलत हो । रणनीतिक उद्देश्य हासिल गर्ने कुरामा विभिन्न तह र तरिकाबाट बहस हुन सक्छ तर उद्देश्यविपरीत गएर बहस गर्ने छुट कसैलाई पनि हुनुहुँदैन । नेपालको कम्युनिस्ट आन्दोलनमा नेतृत्व विकासमा व्यापक सिन्डिकेट प्रणाली हावी हुँदै आएको कुरा सत्य हो । यसको कम्युनिस्टको उच्चता र उद्दात्ततालाई खिल्ली उडाउने काम भएको छ । नेतृत्वको आवधिक प्रणाली लागू गरेर कम्युनिस्ट पार्टी मात्रै हैन, कम्युनिस्ट समाज निर्माण गर्न जोड दिनुपर्छ । कम्युनिस्ट सबैभन्दा जनवादी हो । अधिनायकत्व र जनवादको अभ्यास ठीक ढङ्गले गर्नुपर्छ । प्रतिस्पर्धात्मक रूपमा पुँजीवादीबाट पनि राम्रो कुरा सिक्नुपर्छ र प्रतिशोधी बन्नुहुन्न । सांस्कृतिक रूपान्तरणमा जोड दिँदै निजी पुँजी र सामूहिक पुँजीको प्रतिस्पर्धामा सामूहिक पुँजीले आफ्नो श्रेष्ठता हासिल गर्नुपर्दछ । कम्युनिस्टको काम त्यसलाई अझ सहज, वैज्ञानिक र तीब्र बनाउनु हो । त्यसैले कम्युनिस्ट पुँजी र निजी पुँजीको बहस आवश्यक छ ।

नेता, कार्यकर्ता र जनताको लागि फरक तर ठोस अर्थनीतिको प्रक्षेपण गरिएको छ र, गरिनु पनि पर्दछ । कम्युनिस्ट समाजको निर्माण तथा विकासको कुरा गरिरहँदा फरक–फरक आर्थिक नीतिले ल्याउने दुष्प्रभावका बारेमा भने यथेष्ट रूपमा ध्यान दिनैपर्दछ । यसका साथै, नेपालमा जातीय विषयलाई अतिवाद लगेर फैलाइएको छ । देशलाई अन्त्यहीन द्वन्द्वमा फसाउने खेल भइरहेको छ । संसदीय दलाल पुँजीवादी राज्यसत्ताको सङ्घीयताको विरोध गर्नुपर्छ र जनताले विरोध गरिरहेका पनि छन् । वर्गीय कुरा मुख्य हुन्छ । त्यसैले वैज्ञानिक समाजवादले मात्रै जातीय समस्या हल गर्छ । । जे होस्, पहिलोपटक नेपालको कम्युनिस्ट आन्दोलनमा नेकपा (माओवादी) ले कम्युनिस्ट नीति र प्रणालीको विषयमा जुन बहस गर्न चाहेको छ, जे संश्लेषण गर्न चाहेको छ, यसलाई सबैतिरबाट उत्सुकताका साथ हेरिएको छ । यसर्थ, जनता, नीति, नेता, कार्यकर्ता, सङ्गठन र सङ्घर्षलाई एउटा विधिमा विकास गर्नु यो महाधिवेशनको अर्को कार्यभार हो ।

४. नाम परिवर्तनबारे

नेपालमा २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना भयो । माओवादीको प्रस्थानबिन्दु त्यही हो । यो विश्व कम्युनिस्ट आन्दोलनको एक टुकडी पनि हो तर नेपालमा कम्युनिस्ट पार्टीमा मात्र विभाजन आएन कि सशक्त माओवादी धारामा पनि विभाजन आयो । हरेक विभाजनपछि नयाँ पार्टीले केही न केही नाम राख्नैपर्ने हुन्छ र त्यही गरिँदै आएको पनि छ । नेकपा (माओवादी) को नाम पनि यही सिलसिलामा निर्माण भएको स्पष्ट नै छ । एकातिर ऐतिहासिक परम्परा यस्ता यस्ता छन् भने अर्को सार नयाँ छ भने त्यसलाई व्यक्त गर्ने रूप पनि नयाँ चाहिन्छ भन्ने बहस पनि छ । नेकपा (माओवादी) ले अहिले नयाँ नयाँ विषयको उत्खनन गरिरहेको छ । यस्ता विषयमा नेपालका अन्य कुनै कम्युनिस्ट पार्टीले बहस गरेको पाइँदैन । नीति र विधिमा नयाँ विकास गरेपछि नाम उहीँ राख्नैपर्छ भन्ने हुँदैन भन्ने राजनीतिकर्मीको अभिमत रहेको पाइन्छ । मुख्य काम देश र जनता मुक्त गर्ने हो । त्यसैले, कम्युनिस्ट पार्टी मुख्य हो, त्यसमा पुच्छर झुन्ड्याइरहन आवश्यक छैन र पर्दैन पनि आदि आदि विषय बहसमा छन् भन्ने अर्कोतिर नेपाली धर्तीमा १३ हजार सहिदका रगतले सिञ्चिएको १० वर्षका जनयुद्धले माओवादीलाई संसारभर स्थापित गर्यो । माओवादी आज नाम मात्र रहेन; यो आमूल परिवर्तनकारी, क्रान्तिकारी शक्तिको रूपमा पनि स्थापित छ । यसमा महान् सहितदहरूका रगत भिजेको छ । महान् बेपत्ता र घाइते योद्धा तथा जनसमुदायको भावना लतपतिएको छ ।

केही नेता अर्थात् प्रचण्ड–बाबुरामका कारण आज अस्थायी रूपमा नै भए पनि माओवादी नाम बदनाम भए जस्तो, नाम लिन असजिलो भएजस्तो, जनतामा त्यति चासो नभएको जस्तो भएको भनिए पनि यथार्थमा कुरा त्यस्तो होइन । समकालीन नेपाली राजनीतिको यसतबेला यो बहसको एउटा विषय त बन्न सक्ला तर दुनियाँले के भनिरहेको छ वा विपरीत धारा वा ध्रुबले के भनिरहेको छ भन्ने कुराले खास अर्थ राख्दैन । खास अर्थ त हामी के भन्दछौँ र के गर्दछौँ भन्ने कुरा नै मुख्य हो । यसकारण पनि माओवादी पदावलीको प्रयोगको औचित्य अझै बाँकी छ । नेपालमा आज माओवादी सौन्दर्यशास्त्र, नयाँ सांस्कृतिक मूल्य र नयाँ यथार्थपरक कला–साहित्यले सबैखाले संशोधनवादसित सङ्घर्ष गरिरहेको छ । यसको समृद्धीकरण र पुँजीककरण आजको आवश्यकता हो । यो कुरा पनि सही हो कि आज माओवादी विभाजित भए पनि क्रान्तिकारी सपना र समर्पणमा विभाजन आएको छैन । आज पनि जनताको ठूलो हिस्सा माओवादीप्रति नै आशावादी छन् । प्रतिक्रियावादीले इतिहासका पानाबाट नै माओवादीलाई सखाप पार्न खोजिरहेको यतिबेला स्वयम् माओवादीले नै त्यो पदावली हटाउन खोज्नुले धेरैलाई शङ्काको सुविधा प्रदान गर्दछ । त्यसैले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी होइन कि नेकपा (माओावादी) राख्नु नै उपयुक्त हुनेछ ।

५. जनवादी क्रान्ति र राष्ट्रियताको लडाइँबारे

संसदीय दल र तिनका नेताका अपार असफलताका कारण नेपालमा क्रान्तिको सम्भावनालाई अझै बढाउँदै लगेको छ । आज नेपालमा सबै असन्तुष्ट छन् । यसले नेपालमा जनवादी क्रान्तिको सम्भावनालाई स्पष्ट सङ्केत गर्दछ । सत्ता बन्दुकको नालबाट निस्कन्छ भन्ने कमरेड माओको सुप्रसिद्ध प्रस्तावनाले राज्यसत्ताको प्राप्ति वा टिकाइराख्ने विषयमा बल प्रयोगको सिद्धान्त आकर्षित हुन्छ । ज–जसले यसको विकल्प देखेका छन्, तिनीहरू सुधारवादी, संशोधनवादी हुँदै पतन भएका छन् । एकीकृत जनक्रान्तिको कार्यदिशाले बल प्रयोगको सार्वभौम विशेषतालाई आत्मसात गरेको छ । बल प्रयोगको सिद्धान्तसित ध्वंस, निर्माण, बलिदानका अनेकौँ शृङ्खलाहरू जोडिएका हुन्छन् । यसको सफलता र असफलता दुवै हुन्छ । योसित शौर्य र साहसको सौन्दर्यानुभूति हुन्छ । यहाँ आफू मरेर दुनियाँलाई नयाँ न्यायिक संसार दिने सपना हुन्छ । यो वर्गीय हुन्छ । बल प्रयोगको सिद्धान्तसित मनोविज्ञान पनि हुन्छ । मानिस विचार, दर्शन, सिद्धान्त र उद्देश्यमा प्रतिवद्ध नभइकन यसलाई आत्मसात गर्न सकिँदैन । एकीकृत जनक्रान्तिको कार्यदिशाले आत्मसात गरेको बल प्रयोग सर्वहारावर्गीय उद्देश्यसित अन्तर्सम्बन्धित छ । बल प्रयोगको सिद्धान्तसित क्रान्तिकारी कल्पना प्रचुर मात्रामा रहेको हुन्छ । १० वर्षको जनयुद्ध, त्यसक्रममा भएका भीषण युद्ध, त्याग, बलिदान, वीरता र शौर्यको कीर्तिमान सामान्य छैन । नेपालजस्तो देशको क्रान्तिको चरित्र जनवादी नै हुन्छ । यसलाई एकीकृत जनक्रान्ति ले पूरा गर्दछ । थाबाङ महाधिवेशनले क्रान्तिको सम्पन्नताका लागि उपयुक्त मार्ग पहिल्याउनका लागि बहस केन्द्रित हुनेछ ।
तसर्थ, नेपालमा राष्ट्रियताको मुद्दा र जनवादी क्रान्ति परिपूरक रहँदै आएको छ । नेपालको पछिल्लो राजनीतिमा हावी हुँदै आएको दलाल पुुँजीवादका विरुद्धको सङ्घर्ष अपरिहार्य बनिसकेको छ । भूमण्डलीकृत साम्राज्यवादसित लड्नु त छँदैछ, मुख्य लडाइँ भारतीय विस्तारवादसितै छ । यस्तो बेला माओवादीहरू दुःखसुखका साथी बन्नुपर्छ, मात्र नेता होइन । माओवादीहरू कमरेड बन्नुपर्छ, एकअर्काका प्रतिस्पर्धी होइन । माओवादीहरू सहयोगी बन्नुपर्छ । माओवादीहरूले वर्गीय अस्तित्व स्वीकार गर्नुपर्छ । माओवादीहरूले वर्गीय पहिचानलाई आत्मसात गर्नुपर्छ । माओवादीहरूले पार्टीमा वैज्ञानिक–समाजवादी आदर्श कायम गर्नुपर्छ । आन्दोलनको एकता, रूपान्तरणको एकता, जनताको एकता, भावनात्मक एकता, क्रान्तिका लागि एकताका मोठरूप एकीकृत जनक्रान्ति हो । माओवादीहरूका अघि बढ्नुको कुनै विकल्प छैन । अब माओवादीलाई गल्ती गर्ने छुट छैन । राष्ट्रिय स्वाधीनताको रक्षा र क्रान्तिको पूर्णता नेकपा (माओवादी) को ८औँ महाधिवेशनको अन्तर्वस्तु यहीँनेर छ ।
(लेखक विप्लव माओवादीनिकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घको महासचिव हुनुहुन्छ ।)