बाँकेमा मानब बेचबिखनमा घटनाहरु बढेको भन्दै अधिकारकर्मीहरूद्धारा चिन्ता ब्यक्त 

सशक्त ढंगले लाग्नुपर्नेमा जोड 

बाँके,माघ १२ । बाँकेका महिला अधिकरकर्मीहरुले  मानव बेचबिखन बिरुद्धको अभियानलाई सशक्त र प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने बताएका छन् ।

उनिहरूले मानब बेचबिखनका घटनाहरू नरोकिएको विषयमा चिन्ता ब्यक्त गर्दै अधिकारको क्षेत्रमा सशक्त रुपमा लाग्नुपर्ने बताएका हुन् ।

मानव कलंकको रुममा रहेको मानव बेचबिखन तथा अबैध ओसारपसारको जघन्य अपराध रोक्न र पीडितको न्यायका लागि सरकारी र गैरसरकारी निकायले ठोस योजना बनाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने धारणा उनिहरूले प्रस्तुत गरे ।

नेपालगंजमा आज सम्पन्न राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगन्जको आयोजनामा मानव बेचबिखन तथा अबैध ओसार पसार रोकथाममा सरकारी र गैर सरकारी क्षेत्रबाट भएका पहल र रोकथाममा देखिएका चुनौती बिषयक अन्तक्रिया गरिएको हो ।

उनिहरुले मानव बेचबिखन नियन्त्रण जिल्ला समितिको कामप्रति असन्तुष्टि जनाउँदै सम्बद्ध सबै निकायसंग समन्वय र सहकार्य गर्दै नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउनु पर्ने बताएका छन ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार अयाोगका क्षेत्रीय निर्देशक मुरारी प्रसाद खरेलले मानव बेचबिखन नियन्त्रणका सम्बन्धमा सरकारी तथा गैरसरकारी तवरबाट भएका कारवाहीको अध्ययन, अनुगमन गरि उनीहरुको काम कारवाहीलाई प्रभावकारी बनाउनुपर्ने बताए । खरेलले सम्बन्धित पक्षलाई सुझाव दिने र कामको मुल्याङ्कन गरि नितिगत सुधारको आवश्यकता देखिएमा तदनुरुपको कार्य गर्नका लागी सरकारलाई सिफारिस गर्ने उदेश्यका साथ कार्य थालनी गरिएको बताए ।

 उक्त कार्यक्रममा अधिकारकर्मी अधिवक्ता बसन्त गौतम, उच्च अदालत बार एशोसिएसन नेपालगन्जका अध्यक्ष बल बहादुर चन्द, साथी संस्थाकी कमला पन्थ, सिबिनका इन्द्र केसी, केआई नेपालकी राधिका गिरी, सेलर्डकी नारायणी वली, इन्सेकका बिनोद पाण्डे, लगायतको सहभागिता रहेको थियो ।