श्रीमान हत्याको आरोपमा मृतककी पत्नीसहित पाँचजनालाई कर्तव्यज्यान मुद्दा चलान

प्रहरीद्धारा आरोपितहरुको सार्वजनिक

महोत्तरी, माघ १२ । महोत्तरीमा श्रीमान हत्याको आरोपमा प्रहरीले मृतककी पत्नीसहित पाँचजनालाई हिजो सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार हतिसर्वा–८ सङ्ग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रलाई हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उक्त हत्याकाण्डमा संलग्न रहेको आरोपमा हतिसर्वा–८ बस्ने मृतककी पत्नी २२ वर्र्षीया ज्योती मिश्रा, धर्मपुर–६ बस्ने ३१ वर्षीय फिरोज कवारी, धमौरा–१ बस्ने ३७ वर्षीय तुफान नट अन्सारी, बगडा–७ बस्ने ४४ वर्षीय गङ्गाराम दास र महोत्तरी गाविस–७ बस्ने २९ वर्षीय कुवेर राउतसहित पाँचजनालाई मंगलबार सार्वजनिक गरेको छ ।

प्रहरीले उनीहरुलाई घरबाट पक्राउ गरी कर्तव्यज्यान मुद्दा चलाएको छ । हत्या भएको १० दिनपछि उनीहरुलाई हिजो मात्र सार्वजनिक गरेको थियो । मृतक अञ्जनीकुमारकी दुईवटी श्रीमती थिए ।

मृत्युको आरोपमा पक्राउ परेका कुवेर मृतकका काकाससुरा हुन भने फिरोज र तूफान जनतान्त्रिक तराई मुक्तिमोर्चा ज्वाला समूहमा सक्रीय रही अपहरण, लुटपाट, चन्दा आतङ्क र हत्या गर्ने किलरका रुपमा काम गर्ने रहेको प्रहरीको अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक रवीन्द्र खनालले बताए ।

उनका अनुसार हत्याको प्रमुख कारण यौनसम्बन्ध र सम्पत्ति नै रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । वैदेशिक रोजगारीबाट तीन महिनाअघि मात्र घर फर्केका मिश्रको नाममा पाँच बिघा जग्गा रहेको छ । मिश्रलाई गत पुस २९ गते शुक्रबार राति ८ बजे उनीहरुले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।