ट्रम्प नीतिले नेपालमा मातृ मृत्युदर बढ्ने,सुरक्षित गर्भपतनमा प्रभाव

जनचेतना जगाउने दिदै आएको रकम रोकिने

काठमाडौं,माघ १२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्ने वित्तिकै जारी गरेको नयाँ सहयोग नीतिले नेपालमा सञ्चालित परिवार नियोजन तथा सुरक्षित गर्भपतनसम्बन्धी कार्यक्रममा गम्भीर असर पर्ने देखिएको छ । यसले नेपालमा मातृमृत्युदर बढाउन सक्ने विज्ञहरुले औंल्याएका छन ।

निवर्तमान राष्ट्रपति बाराक ओबामाले सन २००९ मा खारेज गरेको ‘म्याक्सिको सिटी पोलिसी’ ट्रम्पले राष्ट्रपति कार्यभार सम्हाले लगत्तै ब्युँताएका छन । त्यसमा रहेका बुँदामध्ये सुरक्षित गर्भपतन सेवा र त्यसबारे जनचेतना जगाउने गैरसरकारी संस्थालाई अमेरिकी सरकार र अमेरिकी निजी फाउन्डेसनले दिँदै आएका सहयोग रोकिने अवस्था देखिएको हो ।

ट्रम्पको निर्णयबाट नेपालमा मातृस्वास्थ्य, परिवार नियोजनका लागि सुरक्षित गर्भपतन सेवाका कार्यक्रम सञ्चालन गर्दै आएका करिब दर्जन गैरसरकारी संस्था प्रभावित हुनेछन ।

नेपालमा २०५८ बाट सुरक्षित गर्भपतनले कानुुनी मान्यता पाएकोमा २०६० देखि गर्भपतन सेवासम्बन्धी निर्देशिका जारी भइ सेवा विस्तार कार्यक्रम चलिरहेको छ । प्रत्येक बर्ष करिब ९० हजार भन्दा बढी महिलाले सूचीकृत सेवाकेन्द्रबाट सुरक्षित गर्भपतन गराइरहेका छन ।

सरकारले गत बर्षदेखि स्वाथ्य संस्थाहरुबाट गर्भपतन सेवालाई निशुल्क प्रदान गर्दै आएको छ । जसको असर गर्भपतन सेवामा पनि पर्ने देखिएको छ ।

विज्ञहरुका अनुसार परिवार नियोजनको,मातृमृत्युदर घटाउने र सुरक्षित गर्भपतन क्षेत्रमा सरकारी तथा गैरसरकारी क्षेत्रले अन्तरसम्बन्धित खर्च गरिरहेका छन । यो सम्बन्धी समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।