मधेसी मोर्चाको सहमतिमा स्थानीय तहको निर्वाचन मिति घोषणा हुने

निर्वाचनबारे दलहरु छलफलमा

काठमाडौं,माघ १२ । मधेसी मोर्चाको सहमतिमा स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने निष्कर्षमा सत्तारुढ दल पुगेका छन । सत्तारुढ, प्रमुख प्रतिपक्षी दल र मोर्चाबीच त्रिपक्षीय छलफल गरेर निर्वाचन मिति घोषणामा सहमतिमा पुग्ने नेताहरूको अपेक्षा रहेको छ ।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाले सहमतिमै निर्वाचन मिति घोषणा गर्ने निष्कर्ष निकालेका छन । संविधान संशोधन, स्थानीय तहको निर्वाचन र स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनको कार्यान्वयनबारे सहमतिबाटै अगाडि बढ्ने निर्णय भएको माओवादी केन्द्रका नेता मातृका यादवले जानकारी दिएका छन ।

हिजो प्रधानमन्त्री निवासमा दलहरुसँग प्रधानमन्त्रीले गरेको छलफलले निकालेका मुख्य निकर्षहरु यस्ता रहेका छन ।

१. चाडो पूरक विधेयक तयार गर्ने काममा लाग्नेः – सत्तारुढ दल र मधेसी मोर्चाबीच संसद्मा टेबुल भएको संविधान संशोधनको विधेयक परिमार्जन गर्न एउटा टोली गठन गर्ने सहमति भएको छ । टोलीमा कांग्रेस, माओवादी केन्द्र र मोर्चाबाट एक एकजना प्रतिनिधि सहभागी हुनेछन । उनीहरूले संशोधन विधेयक परिमार्जनको खाका तयार गर्नेछन ।

यसका लागि बुधवारबाटै काम सुरु गर्ने सहमति छ । तर, प्रतिनिधि तोकिएको छैन । संसद्मा पुगेको संशोधन विधेयकका भाषा, राष्ट्रियसभा गठन, नागरिकता र प्रदेशको सीमांकनमध्ये मोर्चाले भाषा, राष्ट्रिय सभामा परिमार्जन खोजेको छ ।

२. स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदनलाई पुनरावलोकन गर्नेः– सत्तारुढ दल र मोर्चाबीच स्थानीय तह पुनर्संरचना आयोगले तयार गरेको प्रतिवेदन अध्ययन गर्न मन्त्रिपरिषद्ले कार्यदल गठन गर्ने सहमति जुटेको रामसपाका महासचिव केशब झाले जानकारी दिए । पुनर्संरचना आयोगले तयार गरेको २ नम्बर प्रदेशको स्थानीय तह संख्यामा मोर्चा असन्तुष्ट छ । आयोगले देशभर ७१९ वटा स्थानीय तह रहने प्रतिवेदन सरकारलाई बुझाएको छ ।

३. पुनसंरचनाबारे देखिएका असमझदारी हटाउने– पुर्नसंरचना आयोगले जिल्लागत रुपमा तयार पारेको खाकालाई पुनरावलोकन गर्दै स्थानीय स्तरबाट आएका सुझाबहरुको आधारमा देखिएका समस्याको समाधान खोज्ने विषयमा सबैको सहमति देखिएको छ । दलहरुले आयोगको प्रतिवेदनलाई पहिले पुनरावलोकन गर्ने सहमति गरेका छन ।

यो विषयमा आजको नयाँ पत्रिकामा खबर प्रकाशित छ ।