शोषणले बढायो विदेशमा आत्महत्या

महिला कामदारले आत्महत्या गर्ने क्रम बढ्दो

काठमाडौं,माघ १२ । वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै विदेशमा ज्यान गुमाउनेको संख्या बृद्धि हुनु अब धेरैलाई समान्य लाग्न थालेको छ ।

दैनिक १२ देखि १५ सय युवा वैदेशिक रोजगारीमा गइरहेका बोला दैनिक ३ देखि ४ वटा शव विदेशबाट आउने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको पछिल्लो तथ्यांकले देखाउँछ ।

वैदेशिक रोजगारीमा गएर आफू र परिवारको सुन्दर भविष्य बनाउने अभिलाषा बोकेका कैयन् युवकयुवती विदेशमा प्राकृतिक मृत्युभन्दा पनि सडक दुर्घटना, मुटुजन्य रोग, हृदयघात, आत्महत्याजस्ता कारण सर्वाधिक ज्यान गुमाउने गरेको बोर्डको तथ्यांक छ ।

साथै पछिललो अवधिमा वैदेशिक रोजगारीको क्रममा आत्महत्या गर्नेमा पुरुषको तुलनामा महिलाको संख्या बढिरहेको पाइएको छ । पुरुषको तुलनामा निकै कम संख्यामा महिला वैदेशिक रोजगारीमा जाने र सोही अनुपातमा हेर्ने हो भने आत्महत्या गर्ने महिलाको संख्या बढिरहेको पाइएको हो ।

धेरै महिलाले आत्महत्या गर्नुलाई विज्ञहरुले विदेशमा हुने शोषण र नेपालबाट सोचेजस्तो वातावरण त्यहाँ नपाउनुलाई कारणका रुपमा लिने गरेको छन । ‘आत्महत्या गर्नुको कारण खोज्न अहिलेसम्म गहिरो अध्ययन त भएको छैन, सरसर्ती हेर्दा महिलामाथि हुने अत्याचार नै प्रमुख कारण हो ।’ बोर्डकी निर्देशक निर्मला थापाले भनिन ।

एक बर्षअघि कुवेतमा घरेलु कामदारको रुपमा गएकी पाँचथरकी रमिता लिम्बुले तीन महिनाअघि आत्महत्या गरिन् । अघिल्लो दिनसम्म घरपरिवारसँग फोनसम्पर्कमा रहेकाी ३० बर्षिया लिम्बुले आत्महत्या गर्नुको कारण परिवारले अझैँ थाहा पाउन सकेको छैन । परिवारका सदस्यका अनुसार रमिताले बेलाबेलामा विदेशको रोजगारी सोचेजस्तो नहुने रहेछ भन्दै आएकी थिइन । यो खबर आजको नागरिकमा प्रकाशित छ ।