पूर्व माओवादी लडाकु सरस्वतीको पिडा: आफूसँगैका मन्त्री भए, मेरो गिट्टी कुटेर मुस्किलले छाक चल्छ

  अयोग्य लडाकुको पिडाले भरिएको कथा  

बैतडी । ‘म कक्षा छ पढ्थें । सबैले अभियानमा जानैपर्छ भनेर दबाब दिन थाले । माओवादी नेताका समाजमा रहेको उत्पीडित निमुखा वर्गको लागि लड्ने समाज र देश बदल्ने मीठा भाषण सुनेर युद्धमा लागें ।’ बैतडीको दशरथ चन्द नगरपालिका–बाडीलेककी पुर्वलडाकु भगवतीले सार्कीले आफू माओवादीमा लाग्दाका सुरुका दिनको स्मरण गरिन् ।

 

देश परिवर्तनका लागि २०६३ सालमा भगवती छ कक्षामा पढ्दा पढ्दै भूमिगत भएर सशस्त्र युद्धमा होमिइन् । आफूहरूजस्तै उत्पीडित वर्गका लागि समाज परिवर्तनमा लागेकी उनी शान्ति सम्झौता पछि अयोग्य भइन् अनि उनको जिवन मोडियो ।

 

तत्कालीन माओवादी सेनाको लोकेश स्मृति ब्रिगेड ७ औँ डिभिजनमा कार्यरत भगवती अयोग्य भएपछि न अरु अयोग्य लडाकुले जस्तै सरकारबाट पैसा पाइन्,न कुनै सीपमुलक तालिम नै । खाली हात घर फर्केकी उनले भनिन् ‘अयोग्य भनेर घर पठाइएको अन्य लडाकुलाई त ४ लाख रुपैयाँ पैसा र सीपमुलक तालिम पनि दियो रे, तर मैले केही पाइनँ ।’ ‘व्यारेकबाट घर फर्कने वेलामा उनका सबै कागजपत्र कमान्डरले राखेर केही पाइने भए खबर गरौंला भनेका थिए, तर अहिलेसम्म कुनै खबर आएन’ उनले थपिन् ।

 

‘व्यवस्था फेरिएर गणतन्त्र आयो ९/९ महिनामा सरकार परिवर्नन पनि भयो । गणतन्त्रपछि माओवादीले दुई पटक सरकारको नेतृत्व ग¥यो । थुप्रै पटक गठबन्धनमा सरकारमा आइसकेको छ । तर शसस्त्र युद्धमा योग्य र पछि अयोग्य घोषित हामी लडाकुको जिवनमा पनि कुनै परिवर्तन आएन’ भगवतीले भनिन् ।

 

भगवती साँझ बिहानको छाक टार्न कहिले गिट्टी कुुट्छिन् त कहिले सडक सफा गर्छिन् । घरव्यवहार चलाउन गाह्रो भएपछि भगवतीका श्रीमान रोजगारीका लागि भारत पसे ।

 

चार वर्षकी छोरीलाई पैसा नहुँदा सरकारी विद्यालयमा समेत भर्ना गर्न नसकेको उनले सुनाइन् । ‘सरकारी विद्यालयमा पैसा नलागे पनी स्कुलको पोशाक किन्न पैसा नहुँदा छोरीलाई स्कुल पठाउन नसकेको उनले बताइन् । ‘साँझबिहान चामल किन्ने पैसाको जोहो गर्नै धौ धौ पर्छ, कसरी छोरीलाई स्कुल ड्रेस किन्नु’ निन्याउरो मुख लाउँदै उनले भनिन् ।

 

शान्ति प्रक्रियापछि नेताहरूले घरघरेडी जोडेको तर उनीहरूलाई यहाँसम्म ल्याइ पुर्‍याउन र्भयाङ बनेका लडाकुलाई बेवास्ता गरेको उनले वताइन् ।

 

आफूसँगैका साथी अहिले नेता,मन्त्री भएर कार चढेर हिंडेको उनी वताउँछिन् । भन्छिन् ‘आफूसँगैका साथी अहिले नेता,मन्त्री भए,आफू अयोग्य ठहरियो, उनीहरू अहिले ठुलाठुला महल बस्छन्, आफू भने यस्तो जीवन भोग्नु रै छ, सहिद भएको भए राम्रो हुन्थ्यो ।’

(वहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टको फेसबुक बाट साभार )