६७ वर्षीय बेलायती नेता अझै साइकल चढ्छन

बेलायतमा भावी प्रधानमन्त्रीका रूपमा हेरिएका प्रमुख प्रतिपक्षी दल लेबर पार्टीका नेता जेरमी कोर्बिन सादगीका लागि प्रसिद्ध छन । ६६ वर्षको उमेरमा सेप्टेम्बर २०१५ मा लेबर पार्टी प्रमुखमा निर्वाचित भएका कोर्बिनको सादा जीवनशैली धेरैका लागि प्रेरणा मान्न सकिन्छ ।

कोर्बिन अझै पनि साइकलमा सवार गर्छन । बेलायती पत्रिका ‘द गार्जियन’सँगको कुराकानीमा केही समयअघि उनले भनेका थिए, ‘म खासै पैसा खर्च गर्दिनँ, सामान्य जीवन बाँच्छु । आवात–जावत गर्दा साइकल प्रयोग गर्छु, मसँग कार पनि छैन ।’

कोर्बिन बेलायती सांसदहरूको ‘अल पार्टी पार्लियामेन्टरी ग्रुप अन साइक्लिङ’का सदस्य पनि हुन । कोर्बिन खासै पिउँदैनन । ‘द मिरर’सँगको कुराकानीमा उनले ‘असाध्यै थोरै’ पिउने गरेको स्वीकारेका छन । उनी २० वर्षको उमेरदेखि नै शाकाहारी बनेका हुन ।

त्यसवेला उनी जमैकामा एउटा बंगुर फार्ममा काम गर्थे । अक्सर दाह्रीमा देखिने कोर्बिनले ६ पटक ‘वर्ष दारी व्यक्तित्व’ जितेका छन । बियर्ड लिबरेसन फ्रन्टको ‘वर्ष दाह्री’ नामांकित भएका कोर्बनको दाह्रीलाई कुनै समय लेबर नेतृत्व ९१९९० देखि २०१० सम्मको० विरुद्धको विद्रोहका रूपमा पनि लिइन्थ्यो ।

कोर्बिनलाई सालीन विद्रोहीका रूपमा पनि लिइन्छ । ३४ वर्षसम्म लगातार सांसद रहेका कोर्बिन कैयौंँ अवसरमा पार्टीनीतिको विरुद्धमा खडा भए । सन २००१ मा आफ्नै पार्टीको सरकारले समर्थन गरेको अमेरिका नेतृत्वको अफगानिस्तान युद्ध र २००३ को इराक युद्धको विरोधमा ब्यानर लिएर सडकमा उत्रेका थिए ।

कोर्बिनले तीनपटक बिहे गरेका छन । १९७४मा पहिलो बिहे गरेका कोर्बिनले १९८७ मा दोस्रो बिहे गरेका थिए । दोस्री पत्नीसँग १९९९मा सम्बन्धविच्छेद भएपछि सन् २०१३ मा लाउरा आल्भारेजसँग बिहे गरेका हुन । कोर्बिनका तीन छोरा छन ।
(नयाँ पत्रिका दैनिकबाट )