आफ्नै जीवनकालमा ग्रेटर नेपाल बनाएर मर्छुः अध्यक्ष नेपाल

–‘कुनैपनि नेपालीलाई भारतीय एजेन्डाबाट चल्न दिइने छैन’

पोखरा,पुस २८ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले आफ्नो जीवनकालमै ग्रेटर नेपाल बनाएर मर्ने बताएका छन ।

राष्ट्रिय एकता दिवस तथा २९५ औं पृथ्वीजयन्तीको सन्दर्भमा स्वतन्त्र पत्रकार संघ नेपाल,नागरिक समाज पोखरा,पोखरा ट्रेड मल र माउन्ट कैलास रिसोर्टको संयुक्त आयोजनामा हिजो पोखरामा सम्पन्न ‘दिव्य उपदेसको सान्दर्भिकता’ विषयक परिचर्चा कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै अध्यक्ष नेपालले त्यस्तो बताएका हुन ।

भारत प्रति डरको मानसिकता हटाउन सके ग्रेटर नेपाल सजिलै पाउन सकिने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले सबै राजनीतिक दलहरुमा राष्ट्रभक्ति देखिएमा अबको पाँच बर्षमै ग्रेटर नेपाल कायम गर्न सकिने ठोकुवा समेत गरे ।

ग्रेटर नेपाल माग्नु भारतको बिरोध नभएर आम नेपालीको अधिकारको खोजी भएको बताउदै उनले भने–‘नेपाली भएरपनि भारतीय एजेन्डाबाट चलेकाहरुलाई अब चाहेर पनि भारतीय बन्न दिइने छैन, उनीहरुले नेपालको माटोलाई बिर्सन पाउने छैनन,हरेक नेपालीले देसको लागि लड्नुपर्ने अवस्था छिट्टै आउदैछ,त्यसबाट कोहीपनि उम्कन मिल्दैन ।’

आफुलाई सत्ता र भत्ताको कुनै मोह नभएको भन्दै उनले भने–‘नेपाली जमिन कब्जा गरेर छिमेकी मोटाउदे जाने र हामी दुब्लाउदै जाने अवस्था कहिले अत्य हुने ? भारतले कब्जा गरेको ६० हजार वर्ग किलोमिटर जमिन खोज्न चासो नदिने सरकारले मेची महाकालीको सुरक्षा समेत गर्न सकेको देखिन्न । हाम्रा राजनीतिक दलहरुले सत्तामा पुग्ने सिढीको रुपमा मात्र राष्ट्रितालाई जोडेको देखिन्छ,त्यसैले ग्रेटर नेपालले यो एजेन्डा बोक्नु परेको छ । यसलाई पुरा गरेरै मर्ने चाहना छ ।’

नेपालले तत्कालिन बेलायती इष्ट इन्डीया कम्पनीसँग सुगौलि सन्धी गरेको हो, भारतीय सरकारसँग होइन, त्यसैले त्यो त्यो जमिन फिर्ता पाउने हामीसँग कानूनि आधार समेत रहेको छ–उनले भने ।

पृथ्वीनारायण शाहले त्यतिबेला राष्ट्रिय एकता बढाएकाले आजको नेपालमा पनि उनको योगदान रहेको उनले बताए ।
जनताले चुनाब जिताएर,मन पराएर सरकारमा पठाएका नेताहरु नै ग्रेटर नेपालको विषयमा मौन बसेको र गुमेको जमिन खोज्न पहल नगरेको आरोप लगाउदै उनले नेताहरु प्रति आफ्नो गुनासो समेत ब्यक्त गरे ।

उनले ग्रेटर नेपालको एजेन्डा कुनैपनि पार्टीहरुले बोक्न नसक्ने भएमा आफ्नो नेतृत्वमै त्यो झोला बोकेर समाधान खोज्ने बताए ।

उक्त कार्यक्रमको सभापति तथा स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्ण प्रसाद वास्तोलाले पृथ्वीजयन्ती मनाउदैमा राजावादी बन्ने तर्क गलत भएको भन्दै पृथ्वीनारायणको योगदानको कदर गर्न एकतादिवस मनाइएको बताए ।

कार्यक्रममा प्रमुख वक्ताको सम्बोधनमाथि अधिवक्ता तिलक पराजुलीले टिप्पणी गरेका थिए । उनले ग्रेटर नेपालको एजेन्डामा भारतले चुक्नुपर्ने बताएका थिए ।

नागरिक समाज पोखराका अध्यक्ष तथा समाजसेवी राम बहादुर पौडेंलले स्वागत मन्तब्य राख्दै पृथ्वीनाराण शाहले दिएको दिव्य उपदेश अमूल्य रहेको र उनी सदेव अमर रहने बताएका थिए ।

उक्त कार्यक्रममा पोखराको विभिन्न संघ संस्थाहरुबाट करिब एक सय जनाको सहभागिता रहेको आयोजकले हरपल नेपालसँग बतायो ।