शाही युवा शक्तिद्धारा पृथ्वीजयन्तीमा सार्वजनिक बिदा माग्दै उपत्यका बन्दको आह्वान

राज्य र ठूला दलहरुले पुर्खाको योगदान बिर्सेको आरोप

 

काठमाडौं,पुस २५ । शाही युवा शक्ति नेपालले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सावर्जनिक बिदाको माग गर्दै एक दिने काठमाडौं उपत्यका बन्द गर्ने जनाएको छ ।

शाही युवा शक्तिका अनुसार राजतन्त्रको पुर्नवाहली नै राष्ट्रिय समस्याहरुको समाधान भएको कुरालाई दलहरुले अस्वीकार गर्दै,थृथ्वीनारायण शाहको योगदानलाई समेत सम्मान नगरेकाले राज्यलाई दवाब दिनकालागि भोली एकदिने उपत्यका बन्द आह्वान गरिएको हो ।

गणतन्त्रको स्थापनासँगै हटेको राजसंस्थाको पूर्ववाहलीको लागि पटक पटक सडक संघर्ष गर्दै आएको शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता र मेलमिलाप पर्वको रुपमा सबैले मनाउन पर्ने तर्क गरें ।

अध्यक्ष खड्काले हरपल नेपालसँग कुरा गर्दै भने –‘टुक्रा टुक्रा विभाजित तत्कालिन राज्यहरुलाई एउटै सुन्दर मालामा गासेँर आजको सिंगो नेपाल बनाउन योगदान पुर्याउने राजा पृथ्वीनारायण शाह सरकारको राष्ट्रिय योगदानलाई राज्यले उचित कदर गरेको देखिएन । उनको योगदानको अपमान गरेको हामीलाई महशुस भएको छ । हामीले उनको जन्मदिनमा सार्वजनिक बिदा दिन भनेपनि राज्य र ठूला भनिएका पार्टीहरुले त्यसलाई बेवास्ता गरेको देखियो,त्यसैले हामी पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिन बाँध्य भएका हौ ।’

उनले नेपालमा अहिले पनि राजसंस्थाको पक्षधर जनताहरु भएको तर्क गर्दै भने–‘गणतन्त्रवादीहरुले राजतन्त्र चाहने जनताहरुको अपमान गरिरहेका छन । नेपालमा अहिले पनि लाखौ जनताहरु दलहरुको कार्यशैलिबाट दिक्क भएका छन,जनताले फेरी एक पटक राजालाई देशको सत्तामा ल्याउन पर्ने र त्यसबाट मात्र राष्ट्रिय समस्याहरुको समाधान निस्कने धारणा सार्वजनिक गरि राखेका छन । राज्यले के हाम्रो भावना र मागको खिलापमा जान मिल्छ ? जनताको माग र आवाजको सरकारले सम्बोधन गर्ने कि नगर्ने ? हामी राज संस्थाको लागि रगत बगाउन पनि तयार छौ ।’

गणतन्त्र नेपालको रोग भएको र नेपालमा राजसंस्थाको विकल्प नभएको उनले दाबी गर्दै छिट्टै राजतन्त्रको पुर्नवाहली हुने आफ्नो विश्वास ब्यक्त गरे ।

उनले भोलीको बन्दमा सबैलाई सहयोग गरिदिन आग्रह गर्दै अटेर गरिएको देखिएमा त्यसले ठूलो क्षति निम्त्याउने र क्षतिको पूर्ण जिम्मेवार सरकार हुनुपर्ने तर्क गरे ।

अध्यक्ष खडकाले आफ्नो बन्दको कार्यक्रममा चुरेभावर पार्टी लगाएत अन्य संघ संगठनहरुको पनि समर्थन र एकवद्धता रहेको जनाउदै, सरकारको मनपरीतन्त्र बिरुद्ध भोली सायौंको संख्यामा जनताहरु सडकमा उत्रिने बताए । यद्यपी उक्त बन्दबारे चुरेभावर पार्टी र अन्य संगठनहरुको आधिकारीक धारणा भने आएको छैन ।