हेटौँडा गोल्डकप प्रतियोगिता त्रिभुवन आर्मी क्लब विजेता

रेफ्रीमाथि मनाङका खेलाडीद्धारा दुव्र्यवहार

रेफ्रीमाथि मनाङका खेलाडीद्धारा दुव्र्यवहार

सुदीप शिवाकोटी नयाँ पत्रिका

मकवानपुर,पुस २४ । साविक विजेता मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले हेटौँडा गोल्डकप प्रतियोगिताको उपाधि जितेको छ ।

पहिलो संस्करणमा उपविजेतामै चित्त बुझाएको आर्मीले दोस्रो संस्करणको फाइनल खेलमा मनाङलाई २–० ले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधिसँगै आर्मीले अघिल्लो संस्करणमा मनाङसँग व्यहोरेको हारको बदलासमेत लियो ।

भरत र सन्तोषको गोल

आर्मीलाई जित दिलाउन कप्तान भरत खवास र सन्तोष तामाङले गोल गरे । भरतले १८औँ मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाए । खेलमा पछि परेको मनाङका लागि मुख्य स्ट्राइकर ओलावाले हाफिजले रातो कार्ड पाउनु पनि दुर्भाग्य साबित भयो । दोस्रो हाफ १० खेलाडीमा सीमित बनेको मनाङ दबाबमा आउँदा आर्मीका सन्तोषले ८४औँ मिनेटमा दोस्रो गोल गरे ।

रेफ्रीमाथि दुव्र्यवहार

फाइनल प्रतियोगितामा निर्णायकको भूमिकामा रहेका फिफा रेफ्री सुदीषकुमार पाण्डेमाथि मनाङका खेलाडीले दुव्र्यवहार गरे । खेल सञ्चालनका क्रममा मुख्य स्ट्राइकर ओलावालेलाई रातो कार्ड दिएको भन्दै मनाङका खेलाडीले दुव्र्यवहार गरेका थिए ।

खेल सकिएपछि मैदानमै रहेका पाण्डेलाई मनाङका खेलाडीले अपशब्द प्रयोग गर्दै हातपात गर्ने कोसिस गरेका थिए । रेफ्रीमाथि हातपात हुन लागेपछि अफिसियलसहितको टोलीले प्रहरीको साथ लिँदै पाण्डेलाई सुरक्षा दिएको थियो ।

उत्कृष्टमा आर्मीको वर्चस्व

उपाधिसँगै आर्मीले ५ लाख नगद पुरस्कार हात पार्‍यो । उपविजेता मनाङले ३ लाखमै चित्त बुझायो । आर्मीका सन्तोष तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ५० हजारसहित ट्रफी हात पारे । सर्वोत्कष्ट खेलाडी बन्न सफल भएका सन्तोष उत्कृष्ट मिडफिल्डर पनि बने । उत्कृष्ट गोलकिपरको ट्रफी आर्मीका विकेश कुथूलाई प्रदान गरियो ।

१ गोल खाएका विकेशलाई उत्कृष्ट गोलकिपर घोषणा गरिएको हो । आर्मीका कप्तान भरत खवास उत्कृष्ट फरवार्ड बन्न सफल भए । आर्मीका नवीन न्यौपानेले उत्कृष्ट प्रशिक्षकको पुरस्कार हात पारे ।

पाँच विधागत पुरस्कार आर्मीले पाउँदा मनाङका विराज महर्जन उत्कृष्ट डिफेन्डर बनेका थिए । उत्कृष्ट ठहरिएकाले जनही १५ हजार हात पारे ।
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले प्रतियोगिता आयोजना गरेको हो ।