विप्लवका विद्यार्थी आन्दोलीतः लोकमानलाई कालो मोसो दल्दा पक्राउ परेका नेताहरुको रिहाइको माग

२६ गते शैक्षिक आम हडताल

काठमाडौं,पुस २२ । विप्लव माओवादी निकटको अखिल क्रान्तिकारीले अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई भष्ट्रचारी भन्दै अदालत हाताभित्र गएर कालो मोसो दलेको आरोपमा पक्राउ परेका आफ्ना नेताहरुको बिनासर्त रिहाइको माग गर्दै आन्दोलन गर्ने जनाएको छ ।

विप्लव निकटको अखिल क्रान्तिकारीले शुक्रबार एक प्रेसविज्ञप्ति जारी गर्दै कुख्यात भ्रष्टलाई कारवार्ही गर्नेे क्रममा पक्राउ परेका आफ्नो संगठनका केन्द्रीय सदस्यहरु प्रकाश शाही र चन्द्रबहादुर बुढालाई सर्तरहित यथाशीघ्र रिहाइ नगरे कडा आन्दोलन गर्ने चतावनी दिएको हो ।

अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहद्धारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तिमा मुलुकमा दलालतन्त्रले आमजनतालाई भ्रष्टाचार,महंगी र कालोबजारी बाहेक अरु केही प्रदान नगरेको अवस्थामा एयटा भ्रष्टले अर्को भ्रष्टलाई उन्मुक्तीदिने भएकाले आफ्नो संगठनका नेताहरुले कुख्यात भ्रष्ट लोकमान कार्कीलाई कारवार्ही गर्नुपरेको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ–‘राष्ट्र र जनपक्षीय कार्यलाई उच्च मनोबल एवं कुशलतापूर्वक गर्ने हाम्रा महान योद्धाहरु हाम्रा निम्ती धन्यबादका पात्र हुन । सुनियोजित ढंगले हाम्रा साथीहरुमाथि कथित सार्वजनिक,अपहेलना जस्ता मुद्धा लगाइ फसाउन खोजिएको छ । उनीहरुलाई हिरासतमा राखिएको कार्यको हामी घोर भत्र्सना गर्दै अविलम्ब ससम्मान रिहाइको माग गर्दछौ ।’

अखिल क्रान्तिकारीले आफ्ना नेताहरुको बिनासर्त रिहाइ नगरे सडक सङ्र्घर्षको कार्यक्रम गर्ने चेतावनी समेत दिएको छ ।
सङ्र्घषको कार्यक्रममा विद्यार्थी,शिक्षक,अभिभावक,प्राध्यापक,बुद्धिजीवी,पत्रकार लगाएत सबैसँग सहयोगका लागि अपिल गर्दै अखिल क्रान्तिकारीले आफ्नो पहिलो चरणको दुईदिने आन्दोलन तालिका समेत सार्वजनिक गरेको छ ।

क्रान्तिकारीले यहि पुस २४ गते देशव्यापी प्रर्दशन,२६ गते एकदिने शैक्षिक आम हड्ताल गर्ने जनाएको छ । आफ्ना नेताहरुको रिहाइ नगरि आलटाल गरेमा २७ गते अर्को चरणको आन्दोलन सार्वजनिक गर्ने उसले चेतावनी दिएको छ ।

पूर्व आयुक्त लोकमानसिंह कार्कीमाथि संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएको अवस्था, भ्रष्टाचारको मुद्धाबारे अदालतमा उपस्थीत हुन गएका बेला पुस ७ गते विप्लवका विद्यार्थी नेताहरुले कार्कीलाई कालोमोसो दलेका थिए ।

उक्त आरोपमा पक्राउ परेका दुईजना विद्यार्थीहरुलाई १५ दिन बित्ता सम्म पनि रिहाइ नगरेको भन्दै क्रान्तिकारीले आन्दोलनमा जाने चेतावनी दिएको हो ।