“अङकल र अण्टीको” प्रतिनिधित्व गर्ने विद्यार्थी संगठनहरु स्ववियूबाट भाग्ने प्रवल खतरा

त्रिभुवन विश्वविद्यालयको ४२ औं सिनेटले २८ वर्षिय उमेरहद र मिश्रीत निर्वाचन प्रणालीसहित आसन्न फाल्गुण १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने निर्णय गरेको छ । यो निर्णय प्रक्रियाले नेपाली विद्यार्थी आन्दोलनमा नयाँ मोड मात्रै लिएको छैन कैयौं सैद्धान्तिक, कानुनी तथा राजनैतिक बहस सिर्जना गरेको छ ।

जन्मेदेखि मृत्यूसम्म ज्ञान आर्जनको सम्पूर्ण प्रक्रियालाई शिक्षाको परिभाषाभित्र राख्ने शिक्षाको वृहत अवधारणा, शिक्षा र विद्यार्थीको अन्योन्याश्रित सम्वन्ध,लगायतका केही सैद्धान्तिक तथा चुन्न र चुनिन पाउने बालिग मताधिकार एवं प्राकृतिक न्यायको सिद्धान्तसंग जोडिएका केही कानूनी प्रश्न र समावेशी, समानुपातिक सिद्धान्तसंग जोडिएका केही राजनैतिक बहसका बावजुद तत्कालका लागि त्रिभुवन विश्वविद्यालयको सिनेटले गरेको यो निर्णले नेपाली विद्यार्थी आन्दोलनमा नयाँ युगको सुवात गरेको छ । लामो समयसम्म स्ववियूको सत्ता र शक्तिको दुरुपयोग गर्ने विकृत मनसायले विश्वविद्यालय र क्याम्पसहरुको गेट कुरेर बसिराख्ने अङ्कल र अण्टी हुन कि होईनन ?

क्याम्पसमा अध्ययन गरिरहेका वास्तविक विद्यार्थीहरु नै स्ववियूमा उम्मेदवार हुने कानूनी र राजनैतिक वातावरण सिर्जना भएको छ । स्ववियू निर्वाचन र स्ववियूमा भईराखेको विकृतिलाई हटाउदै स्ववियूमा नियमित रुपमा अध्ययन गरिराखेका फ्रेस र वास्तविक विद्यार्थीको प्रतिनिधित्व गराउने उद्देश्यले अखिल (क्रान्तिकारी) ले स्थापित गरेको एजेण्डा आज आम विद्यार्थीहरुको दवाव र विद्यार्थी संगठनहरुको सहमतिमे पाश भएको छ,यो खुशीको कुरा हो । स्ववियू निर्वाचनको उम्मेदारीका लागि २८ वर्ष उमेरहद तोक्दै त्रिभुवन विश्वविद्यालयको स्वमित्व र सर्वाेच्च अदालतको नजीर स्थाापित भएको छ । तसर्थ यो निर्णय आम युवा र वास्तविक विद्यार्थीहरुको नेतृत्व गर्ने विद्यार्थी संगठनहरुको लागि स्वागतयोग्य विषय बनेको छ ।

त्यसैगरी त्रिभुवन विश्वविद्यालयले नेपालको राजनैतिक प्रक्रियाबाट स्थापित समावेशी समानुपातिक सिद्धान्तलाई आफ्नो सापेक्षतामा अवलम्वन गर्दै पहिलोपटक स्ववियू निर्वाचन मिश्रीत निर्वाचन प्रणालीबाट सम्पन्न गर्ने भएकोछ । जसले गर्दा स्ववियूमा मतदान गर्ने सवै मतदाताहरुको समुचित प्रतिनिधित्व सहित साना–ठूला सवै संगठन र समूहहरु सहित सबै विद्यार्थीहरुको साझा संस्थाको रुपमा स्ववियू स्थापित हुनेछ । एउटै संगठन र समूहको मनोमानीबाट स्ववियू माथी उठ्दै अगाडि बढ्नु पर्दछ । स्ववियूमा हुने विकृति, भ्रष्टाचार,अनियमितता,अराजकता,गुण्डागर्दी,तोडफोड,सापेक्षिक रुपमा भए पनि त्यसको नियन्त्रण गर्न आवश्यक नितिको समेत ब्यवस्था गर्नु गर्नु जरुरी देखिन्छ । क्याम्पसमा शान्त र शैक्षिक वातावरण निर्माणमा सबै संगठनहरुले आफ्नो भुमिका खेल्नुपर्दछ । त्यसको अतिरिक्त स्ववियू निर्वाचनको प्रक्रियामा हुने धाँदली तथा फर्जी भर्ना, फर्जी मतदान, र फर्जी विजयलाई समेत नियन्त्रण गर्दै नेपालमा विद्यमान आर्थिक,राजनैतिक,सामाजिक विभेदहरुको समावेशी तथा समानुपातिक सिद्धान्तमार्फत न्युनिकरण गर्दै आर्थिक सम्वृद्धि र सामाजिक न्यायससहितको समाजवाद निर्माणको अभियानमा सहभागी हुन यूवाविद्यार्थीलाई प्रेरित गर्नुपर्दछ ।

त्रिभुवन विश्वविद्यालय सिनेटले फागुन १४ गते नै स्ववियू निर्वाचनको मिति निर्धारण गरेको छ । संयोगले नै भए पनि फागुन १४ गते स्ववियू निर्वाचनको मिति घोषण हुनुले नेपालको विद्यार्थी आन्दोलनको गौरवपूर्ण इतिहासलाई सम्मान गरेकोछ । जनक्रान्तिको प्रक्रियामा गोरखाका ११ वर्षीय विद्यार्थी दिल बहादुर रम्तेलले शहादत प्राप्त गरी जनयुद्धको प्रथम शहीदको रुपमा गौरवपूर्ण इतिहास रचेको वलिदान दिवस पनि हो फागुन १४ । उक्त वलिदान दिवसले दिल बहादुर रम्तेलको मात्रै होईन कि नेपालको राजनैतिक क्रान्तिको प्रक्रिमा शहादत प्राप्त गर्ने जनयुद्ध,जन–आन्दोलन,मधेश आन्दोलन लगायतका राष्ट्र र जनताको लागि गरिएका सवै आन्दोलनमा शहादत प्राप्त गर्ने सम्पूर्ण शहीदहरुको प्रतिनिधित्व गर्दछ ।

यसरी हेर्दा २८ वर्षीय उमेर हद, मिश्रीत निर्वाचन प्रणाली, फागुन १४ गतेको मिति निर्धारण लगायतका एजेण्डाहरु नितान्त एउटा विद्यार्थी संगठनहरुको ऐजेण्डा मात्र होईन कि विश्वविद्यालय र क्याम्पसमा भईराखेका विकृतिहरुलाई नियन्त्रण गर्दै साना–ठूला सबै संगठन र समूहहरुको प्रतिनिधित्वसहितको आम विद्यार्थीहरुको साझा संस्थाको रुपमा स्ववियूलाई स्थापित गर्ने उद्देश्यले अवलम्वन गरिएको समावेशी–समानुपातिक सिद्धान्तका आधारमा विश्वविद्यालयको स्वमित्व र सर्वाेच्च अदालतको नजिर समेतका आधारमा गरिएको ऐहिासिक र स्वागतयोग्य निर्णयको हो भन्न सकिन्छ ।

तसर्थ स्ववियू निर्वाचन पश्चात परिणामका आधारमा विद्यार्थी संगठनहरुको प्रभाव र आकार त निर्धारण हुने नै छ, तर एजेण्डागत हिसावले २८ वर्षिय उमेर हद र मिश्रीत निर्वाचन प्रणालीको विजय भईसकेको छ । नीति र नेतृत्ववीचको सम्वन्धाका आधारमा हेर्ने हो भने, अखिल(क्रान्तिकारी) ले एजेण्डागत विजय प्राप्त गरिसकेको छ । निर्वाचनमा पनि जसको एजेण्डा उसको नेतृत्व भन्ने नारालाई पुष्टी गर्ने कुरामा हामी आशावादी रहेका छौ । यतिमात्रै होईन, आसन्न स्ववियू निर्वाचनमा मतप्रतिशतका आधारमा साना–ठूला सवै संगठन र समूह प्रतिनिधित्वको विजय पनि सुनिश्चित भईसकेको छ । तसर्थ नियमित तथा वास्तविक विद्यार्थीहरुको प्रतिनिधित्वसहित साझा संस्थाको रुपमा स्ववियू स्थापित हुने कुरा सबैको विश्वास रहेको छ । यद्यपी लामो समयसम्म स्ववियूको सत्ता र शक्तिको दुरुपयोग गर्ने मनसायले विश्वविद्यालय र क्याम्पसको गेट कुरिरहेका अंकल –अण्टी र उनीहरुको नेतृत्व गर्ने विद्यार्थी संगठनहरु आसन्न स्ववियू निर्वाचनबाट भाग्ने खतरा भने प्रवल देखिन्छ ।

(भण्डारी माअोवादी केन्द्र निकटको अखिल क्रान्तिकारीका उपाध्यक्ष हुन । )