पूर्वराजा ज्ञानेन्द्रले छोरी प्रेरणालाई दिएको १५ रोपनी जग्गामा अब सरकारको अधिकार

जग्गालाई ट्रष्टमा गाभ्ने अधिकार नभएको प्रेरणाको दाबी

 

काठमाडौ,पुस २१ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजोस्वरूप दिएको स्वर्गिय वीरेन्द्र शाहको नाममा रहेको १५ रोपनी एक आना जग्गामाथि सरकारले अधिकार प्राप्त गरेको छ ।

यस अघि सर्वोच्च अदालतले उक्त जग्गा प्रेरणालाई फिर्ता गर्न भनि गरेको पूर्वनिर्णयलाई उल्टाउँदै प्रधानन्यायाधीस शुशीला कार्र्की र न्यायाधीसहरु दीपक कार्की,सपना मल्लको संयुक्त इजलासले बिहीबार सो जग्गामा सरकारले अधिकार राख्ने भनि निर्णय गरेको हो ।

पूर्व राजा विरेन्द्रको मृत्युपछि ज्ञानेन्द्रले काठमाडौंको छाउनीस्थित १५ रोपनी एक आना जग्गा आफ्नी छोरी प्रेरणालाई दाइजो स्वरुप दिएका थिए । उक्त जग्गाको उपभोग गर्ने अधिकार प्रेरणाले पाउने वा नपाउने अथवा त्यसमा कस्को अधिकार रहने भन्ने बिषयमा विवादमा आएपछि विषय अदालत सम्म पुगेको थियो ।

राजतन्त्रको अन्त्यसँगै सरकारले राजदरबार र राजा वीरेन्द्रसहित उनका परिवारको सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टको नाममा गर्ने निर्णय गरेपछि सरकारको उक्त निर्णयको विरुद्धमा प्रेरणा न्याय माग्न सर्वोच्च अदालत गएकी थिइन ।

अदालतले गरेको निर्णयप्रति प्रेरणाले असन्तोष जनाएकी छन । उनले न्यायिक निर्णय नभएको बताएकी छन । उनले भनेकी छन–‘सरकारले निर्णय गर्नुभन्दा पहिले नै उक्त जग्गा मैलें दाइजोको रुपमा अधिकार पाएकी हुँ । मैले छाउनीको उक्त जग्गा पाउँदा त्यसबारे सरकारले कुनै अधिकार प्राप्त गरेको थिएन । तसर्थ मैले पाएको सम्पतिलाई ट्रष्टमा गाभ्ने अधिकार सरकारसँग हुदैन ।’

प्रेरणाले उक्त जग्गा सरकारलाई ट्रष्टमा गाभ्ने अधिकार नभएको दाबी गरेपनि विहिवार सर्वोच्चको निर्णयले त्यसमा सरकारको अधिकार हुने प्रष्ट पारेको छ ।

यसअघि तत्कालीन प्रधानन्यायाधीश रामकुमार प्रसाद साह र न्यायाधीश चोलेन्द्र शम्शेर जबराको संयुक्त इजलासले उक्त जग्गा प्रेरणालाई फिर्ता गर्न आदेश दिएको थियो ।