मिथिला आर्टमा बुद्धका चित्र प्रदर्शनी

चित्रमा रंग प्रयोगको आफ्नै महत्व

काठमाडौं । बुद्धलाई शान्ति र सामीप्यताको प्रतीकका रूपमा लिइन्छ । कलाकार नरबहादुर बिके कलामा बुद्ध नै प्रमुख पात्रका रूपमा हेर्छन् । अर्थात् कलाबाट शान्ति, सामाजिक सन्तुलन तथा सामिप्यता खोज्ने प्रयास गर्छन् ।

उनले कोरेका चित्रलाई प्रदर्शनी पनि गर्दै आएका छन् । कलाकारिताको १५ वर्षे अनुभवमा उनले १२ औं एकल कला प्रदर्शनी गरिरहेका छन् । मिथिला येँ आर्ट ग्यालरी ठमेलमा जारी प्रदर्शनीमा उनले बृद्धलाई विभिन्न रंगमा प्रस्तुत गरेका छन् ।

‘‘चित्रमा रंगको प्रयोगको आफ्नै महत्व छ,” कलाकार बिके भन्छन्, ‘‘मेरा चित्रमा शान्तिको प्रतीक निलो रंग बढी प्रयोग गर्छु ।”

उनको भनाइमा बुद्धको इतिहास, दर्शनशास्त्रको समीक्षा र अध्ययन तथा अनुसन्धानका उनको कलाले सहयोग गर्छ ।
‘‘मेरो कलामा हिमालको चित्र पनि पर्छन्,” उनी थप्छन्, ‘‘देशको प्रतिनिधित्व गर्ने हिमाली, याक, मानव इतिहास, रहनसहन मेरा चित्रका अरु विषयवस्तु हुन् ।”

आर्टमा मास्टर्स डिग्री गरेका उनले १० हजारको हाराहारीमा चित्र कोरेको बताउँदै प्रदर्शनीले कला र देश चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

गुरुदेव कामतले प्रदर्शनी उद्घाटन गरेका थिए । प्रदर्शनीमा कला समीक्षक मुकेश मल्लले हिमाल र बुद्धका मनमोहक दृश्यचित्रका माध्यमबाट नेपाल चिनाउनका लागि नरबहादुरले भूमिका खेलेको बताए । प्रदर्शनी पुस २२ गतेसम्म चल्नेछ ।