नेपाल–चीन सम्बन्ध सुमधुर बन्दै गएको छः राष्ट्रपति भण्डारी

दुई देसबीचको सम्बन्ध नदी र पहाडले जोड्यो

काठमाडौ,पुस ४ । राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दीऔँ अघि मुलुकका राष्ट्रिय निधि भृकुटी र अरनिकोले जोडेको नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्ध वर्तमान युगमा अझ सुमधुर, सुदृढ र समुन्नत भइरहेको बताएकी छिन ।

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनदेखि महासचिवका रुपमा पार्टी नेतृत्व सम्हालेका बेला सम्पादन गरेका ७९ विषयका विशेष कामको विवरण समेटिएको सङ्ग्रहणीय ग्रन्थ ‘चिनफिङस् चीनको शासन व्यवस्था’ को राष्ट्रपति कार्यालयमा लोकार्पण गर्दै त्यस्तो बताएकी हुन ।

राष्ट्रपति भण्डारीले सन्यात्सेन र माओत्सेतुङ लगायत नेताले चीनको विकासका साथै नेपालसँगको सम्बन्ध विस्तारमा योगदान गरेको स्मरण गर्दै दुई देशबिच गहिरो सम्बन्ध भएको बताइन ।

नेपाल र चीनबीचको पारस्परिक मैत्री अतुलनीय रहेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले भूकम्पपछिको उद्धार तथा राहतमा चीनबाट प्राप्त सहयोगप्रति आभार समृत प्रकट गरिन् ।
चीनले पछिल्लो समयमा हासिल गरेको आश्चर्यजनक प्रगतिको प्रशंसा गर्दै उनले समग्र एसियालाई अप्टिकल फाइबरको माध्यमबाट जोडेर अन्तरदेशीय सम्बन्ध र सम्पर्कलाई अझ घनीभूत तुल्याएको बताएकी छन ।
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुख तथा राजनीतिक सचिवालयका सदस्य ल्यू छिपाओले विमोचित पुस्तकले चीनको शासन व्यवस्था, सामाजिक पद्धति तथा आर्थिक विकास बुझ्न उपयोगी हुने बताए ।

चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१ औँ वर्षमा नेपाली भाषामा चिनियाँ राष्ट्रपतिका बारेमा पुस्तक प्रकाशन हुनु दुईपक्षीय सम्बन्धको सुरुवात भएको उनले बताए ।

चीन र नेपाल हातमा हात र काँधमा काँध मिलाएर सहकार्य गर्ने मुलुकका रुपमा चित्रण गर्दै नेता ल्यूले भने–‘नदी र पहाडले जोडेको चीन र नेपालबीचको सम्बन्ध विश्वका लागि उदाहरण सम्बन्ध रहेको छ,हामी यो सम्बन्ध कायम राख्न चाहन्छौ ।’

चीन अध्ययन केन्द्रका कार्यबाहक अध्यक्ष सुन्दरनाथ भट्टराईले नेपाल चीन सम्बन्धका विविध आयामबारे चर्चा गर्दै केन्द्रले आपसी सम्बन्ध अभिवृद्धि गर्न विगत १७ वर्षदेखि गरेको जानकारी दिए ।

झन्डै तीन वर्षअघि चिनियाँ भाषामा प्रकाशित उक्त पुस्तक नेपाली भाषामा यसैवर्ष अनुदित भई प्रकाशमा आएको हो । एघार भाषामा छापिएको उक्त पुस्तक संसारका एकसयभन्दा बढी मुलुकमा सार्वजनिक भइसकेको छ ।