तोकिएको मितिमा स्ववियु निर्वाचन होला त ? कस्ता एजेन्डा बोक्दैछन विद्यार्थी संगठनहरु ?–(प्रस्तुत छ,अखिल क्रान्तिकारी,अनेरास्ववियु र नेविसंघबीचको वहस)

काठमाडौं । लामो समयसम्म त्रिभिवन विश्वविद्यालय अनतर्गतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नसकिरहेको अवस्थामा पटक पटक विद्यार्थी संगठनहरुको संयक्त दबाव र माग पछि विश्वविद्यालयले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । उसले आउदो फागुनको १ देखी ८ गते सम्म नामावलि थपघट गर्ने,प्रकाशन गर्ने लगाएतको कार्यतालिका बनाएको छ भने १४ गते गर्ने जनाएको छ ।

पहिले चुनाव भएन र हुनुपर्छ भन्ने विद्यार्थी संगठनहरु भने यतिबेला विभिन्न कारण देखाउदै फरक धारणा र तर्कहरु गर्न थालेका छन । खास गरी विप्लव माओवादी निकटको अखिल क्रान्तिकारीले पार्टीको महाधिवेशनसँग स्ववियुको निर्वाचन तालिका अन्तरविरोध सिर्जना गर्ने ढंगले आएको भन्दै त्यसलाई सच्चाउन माग गर्दै आएको छ । उसले माग पुरा नगरिए चुनाव होइन,आन्दोलन हुने चेतावनी समेत दिएको छ ।

त्यसैगरी कानुनका केहि विद्यार्थीहले गत बुधबार त्रिविले लागु गरेको उम्मेदार बन्नको लागि २८ बर्षको हद म्यादले अरु उमेर समूहका विद्यार्थीहको स्वतन्त्र चुनाव लड्न पाउने अधिकार हनन भन्दै त्यो सच्चाउनका लागि सर्वोच्चमा रिट दाएर गरेको छ ।

अरु साना पार्टीका केही अरु संगठनहरु पनि चुनावको मिति नजिकीदै जादा सम्म पनि प्रचारमा जुटेको देखिएको छैन । यसले आम विद्यार्थी र युवा वर्गमा त्रिविले तोकेको मितिमा स्ववियु निर्वाचन हुन्छ कि हुदैन होला भन्ने खालका आशंका व्यप्त रहेको देखिन्छ ।

हरपल नेपालले मुख्य ठूला तीन दलका विद्यार्थी संगठनका नेताहरुसँग तोकिएको मितिमा चुनाव हुन्छ कि हुदैन ? चुनावमा कस्ता एजेन्डा बोक्नु हुन्छ ? भन्ने विषयमा वहस गरेको छ । तीन संगठनका सबै नेताहरुले निर्वाचन त्रिविले सार्वजनिक गरे अनुसारको विधि र प्रकृया अनुसार निर्वाचन हुनुपर्ने र आफुहरु चुनावी प्रचार प्रसारमा होमिसकेको बताएका छन । प्रस्तुत छ उनीहरुसँगको वहस…

‘चुनाव हुन्छ,व्यापक प्रचार प्रसारमा छौ’ – अखिल क्रान्तिकारी उपाध्यक्ष-विजय भट्टराई

अखिल क्रान्तिकारी उपाध्यक्ष-विजय भट्टराई

हाम्रो संगठनको पहलमा लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन हुन गैराखेको छ । हामीलाई विश्वास छ,तोकिएकै मितिमा निर्वाचन हुनेछ । विश्व विद्यालयले निर्वाचनको कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । हामी सबै विद्यार्थी संगठनहरु स्ववियु निर्वाचनलाई फेस गर्नका निम्ती आफ्ना संगठनात्मक शैक्षिक एजेन्डाहरु,शैक्षिक योजनाहरु,निर्वाचनका कार्यक्रमहरु अगाडि बढाइरहेका छौ । कुनैपनि संगठन वा निकाय आसन्न स्ववियुको निर्वाचन नहोस भन्ने पक्षमा हुनुहुन्न,म सबै विद्यार्थी,हाम्रा नेता,कायकर्ताहरुलाई निर्वाचनको तयारीमा लाग्न आग्रह गर्न चाहन्छु ।

हामीले हाम्रो संगठनका अध्यक्ष नरेन्द्र न्यौपानेको अध्यक्षतामा निर्वाचन परिचालन समिति बनाएका छौ । स्ववियु निर्वाचनको तयारीकै सन्दर्भमा हामीले कार्यशाला गोष्ठी सम्पन्न गरिसकेका छौ । देशैभरीका क्याम्पस,कलेजहरुमा हामीले चुनावी अभियानहरु संचालन गरेका छौ । अहिले चुनावको घोषणा पत्र बनाउने काम हुदैँछ ।

हाम्रो संगठनको पहलमा वास्तविक विद्यार्थीले मात्र चुनाव लड्न पाउने व्यवस्था लागु गर्नका लागि २८ बर्षको उमेरको हद लागु गराउन सफल भएका छौ,यो विद्यार्थी आन्दोलनको इतिहासमा निकै ठूलो उपलब्धी हो । यस अर्थमा हामीले चुनाव जिति सकेका छौ । हामीले समानुपातिक निर्वाचन प्रणाली,शैक्षिक प्रमाण पत्र धितो राखेर ऋणको व्यवस्था,पार्ट टाइम रोजगार,यातायात र अन्य विषयमा विद्यार्थी छुट,गुणस्तरिय र वैज्ञानिक शिक्षा,क्याम्पस विद्यालयको वातावरण सुधार,सहज शैक्षिक सामाग्रीहरु पाउने व्यवस्था,शिक्षामा देखिएको विभाजनको अन्त्य लगाएतका विषयहरुलाई हामीले सुरुका दिनदेखि नै उठाउँदै आएका छौ ।

मुलत अहिलेको संविधानमा उल्लेख गरेको शिक्षा,स्वास्थ्य र रोजगारको विषयलाई राज्यले व्यवहारमा लागु गर्नुपर्दछ भन्ने हाम्रो धारणा रहेको छ । २०४७ सालको संविधानलाई नै स्वविकार गर्दै बसेका पार्टी र तिनका भातृ संगठनहरुको मान्यतालाई तोडेर हामीले मुलुकमा ठूलो राजनीतिक परिवर्तन गराउन सफल भएका छौ,नयाँ संविधान लेखाउन सफल भएका छौ,यो हाम्रो संगठनको बलिदान र संघर्षबाट उपलब्धीका रुपमा हामीले बुझेका छौ ।

लामो समयसम्म स्ववियु निर्वाचन नभएको अवस्थामा हाम्रो संगठनको पहलमा अहिले चुनाव हुन गैराखेको छ ,हामी स्ववियुमा वास्तविक विद्यार्थीहरु नै आउनुपर्छ भन्ने मान्यतालाई २८ बर्षे उमेर हदबाट लागु गराउन सफल भएका छौ । यसबाट आम विद्यार्थीहरुको साझा संगठनको रुपमा देशैभरी अखिल क्रान्तिकारी विस्तार हुदै गएको छ तसर्थ आसन्न स्ववियु निर्वाचनमा हाम्रो संगठन पहिलो स्थानमा आउनेमा हामी विश्वस्त छौ ।

‘चुनाब हुन्छ,चुनावी माहोल अखिलमय बनेको छ’- अनेरास्ववियु,उपाध्यक्ष-सुनिता बराल

अनेरास्ववियु,उपाध्यक्ष-सुनिता बराल

त्रिभुवन विश्व विद्यालयले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार,यहि प्रकृया र आचार संहिता अनुसार, तोकिएकै समयमा स्ववियु निर्वाचन हुन्छ भन्नेमा हामी पूर्ण रुपमा विश्वस्त रहेका छौ । केही विद्यार्थी संगठनहरु अहिले आएर यो वा त्यो वाहनामा चुनावको विपक्षमा लागेको जस्तो देखिएको छ,तर निर्वाचनको विषयमा हामी सबै विद्यार्थी संगठनहरुले छलफल गरेरै यहाँ सम्म पुगेको कुरालाई यतिबेला बिर्सनु हुदैन । अहिले सार्वजनिक गरिएको चुनावको कार्यतालिका र विधी,प्रकृया सबै संगठनहरुको सहमती गरे अनुसारनै आएको हो ।
तसर्थ सबै संगठनहरु अब स्ववियु निर्वाचनको तयारीमा लाग्नु पर्दछ,विद्यार्थीमा भ्रम फैलाउने खालको अभिव्यक्ति दिनु हुदैन भन्ने हाम्रो भनाइ रहेको छ ।

सिक्ने र ज्ञान आर्जन गर्ने कुरा जीवन प्रयन्त चलिरहने प्रकृया हो,नियमित पढ्ने एउटा विद्यार्थीले आफ्नो उमेर २३–२४ बर्ष पुग्न लाग्दा सम्म मास्टर डिग्रीसम्मको अध्ययन सकाउने गर्दछ तर अहिले विद्यार्थी राजनीतिको नाममा स्ववियु कुरेर बसेका मानिसहरु नाम मात्रका विद्यार्थी बन्ने गरेको ल्याउनका लागि उम्मेदारको उमेर हद २८ बर्ष राखेका हौ ।

हाम्रो संगठन स्ववियुको चुनावी माहोलमा गैसकेको छ । सबैभन्दा पहिले स्ववियु निर्वाचनलाई स्वागत गर्ने संगठन पनि अनेरास्ववियु हो,हामी चुनावी अभियानमा लागि सकेका छौ । हामीले हाम्रो संगठनको अध्यक्ष नविना लामाको संयोजकत्वमा एक हजार एक सय एघार जनाको निर्वाचन परिचालन कमिटि बनाएका छौ । देशैभरीका क्याम्पसहरुमा अनेरास्ववियु चुनावी प्रचार प्रसारमा होमिसकेको छ । आज मुलुकमा राष्ट्रियताको प्रश्न उठिराखेको छ,क्याम्पस कलेजहरुमा पढ्ने विद्यार्थीहरु नै स्ववियुमा प्रतिनीधित्व गर्ने विद्यार्थी हुनुहुन्छ र भोलिको यो देशको संचालक पनि हुनुहुन्छ, त्यसैले सबैमा राष्ट्रिय भावना जगाउदै हरेक क्याम्पसमा राष्ट्रिय झण्डा गाडेर निर्वाचनमा होमिएका छौ । यतिबेला देशैभरीका क्याम्पसहरुमा राष्ट्रिय झण्डा फहराइ रहेको छ र यसको संंकेत के हो भने,यो झण्डाको वरिपरि राष्ट्रघाति बिचारलाई प्रतिनीधीत्व गर्ने कुनैपनि संगठनलाई त्यहा बस्ने अधिकार हुदैन भन्ने हो । हामीले आम विद्यार्थीहरु माझ यही म्यासेज लिएर गएका छौ ।

अहिले सम्मको इतिहासमा अनेरास्ववियु कहिले पनि दोश्रो भएको छैन,अहिलेको अवस्थामा मुलुकको राष्ट्रिय राजनीतिले युवाहरुलाई अत्यन्त प्रभावीत बनाएको छ । र सबै युवा विद्यार्थी साथीहरु राष्ट्रियताको पक्षमा उभिएका छन तसर्थ यसपटकको निर्वाचनमा हामी नेतृत्व गर्ने संगठनको रुपमा आउछौ,यसमा हामी विश्वस्त रहेका छौ । पहिलेको निर्वाचनमा भन्दा यसपटक राजनीतिक माहोल हाम्रो पक्षमा हामीले देखिराखेका छौ,हाम्रो पार्टीले जसरी राष्ट्रियताको पक्षमा सर्घष गरिराखेको छ,यसले पनि आसन्न स्ववियु निर्वाचनमा हामीलाई सफलता तिर पुर्याउने छ । हामीले विद्यार्थी माझ शैक्षिक र राजनीतिक दुइ खालका मुद्धाहरु लिएर अगाडि बढेका छौ । शैक्षिक मुद्धाहरुमा समय सापेक्षिक रुपमा पाठ्यक्रमलाई परिमार्जन गर्नेदेखि रोजगार र जनजीविकासँग जोडिएका सवालहरु,प्राविधिक र व्यवहारीक शिक्षामा पहुँचका आदी रहेका छन । त्यसैगरी शैक्षिक क्षेत्रभित्र हुने गरेका गलत कृयाकलापहरु,दलिय राजनीति गर्ने प्रवृतीको अन्त्य गर्ने र गुणस्तरिय शिक्षा सबैले पाउनु पर्छ भन्ने विषयलाई हामीले उठाएका छौ । त्यसैगरी राष्ट्रियता र लोकतन्त्रलाई स्थापित गर्ने कुरा,संविधानको कार्यान्वयनको कुरालाई हामीले राजनीतिक मुद्धाको रुपमा विद्यार्थीहरु समक्ष लिएर गएका छौ ।

‘चुनाव हुन्छ,नेविसंघ बहुमत सहित पहिलो हुन्छ’-नेविसंघ,सह महामन्त्री-प्रेम जोशी

नेविसंघ,सह महामन्त्री-प्रेम जोशी

स्ववियुको निर्वाचन तोकिएकै मिति र विधी विधान अनुसार, त्यही कार्यतालीका अनुसार हुन्छ, र नेविसंघ हुनुपर्छ भन्ने मान्यता राख्दछ । लामो समयदेखि विश्वविद्यालयको अनिक्षा,केही विद्यार्थी संगठनको निर्वाचन प्रणालीमाथीको असहमति जस्ता विविध कारणले निर्वाचन हुन सकेको थिएन,तर यतिबेला निर्वाचनको विषयमा सबै विद्यार्थी संगठनहरु एक ठाउँमा उभिएका छन,सबैले विश्वविद्यालयले गरेको चुनावी निर्णय मान्छौ भन्ने पहिले नै प्रतिबद्धता जनाइसकेका छन । तसर्थ अब स्ववियु निर्वाचनको बाधक केही छैन भन्ने मलाई लाग्छ ।

हामीले विश्वविद्यालयको बागडोर राजनीतिक नियुक्तिबाट आएका पदाधीकारीहरुले समालिरहेको हुनाले,सबै नेतृत्व उहाँहरुले नै सम्हाल्नु भएको थियो,त्यो कुराको हामीले विरोध गरेका थियौ । अर्को कुरा चुनावको प्रणालीको विषयमा हामी प्रत्यक्ष निर्वाचनको पक्षमा थियौ र अन्य संगठनहरु पूर्ण समानुपातिकको पक्षमा थिए । त्यो बिचको बाटोमा अहिले मिश्रीत प्रणालीमा चुनाव हुन गैराखेको छ,यसमा सबै संगठनले सममति जनाएका छन।

साच्चै भन्ने हो भने विद्यार्थी हुनका लागि कुनै उमेरको हद हुदैन तर स्ववियु चुनाव लड्नैका लागि विद्यार्थी हुनु त भएन नि । भन्न खोजेको कुरा के हो भने,२०६५ को निर्वाचनलाई हेर्ने हो भने,विश्व विद्यालयको चुनाव क्रान्तिकारीका हिमाल शर्मा चुनाब लड्नु भो,अमृत साइन्स क्याम्पसमा उहाँकै छोरा चुनाव लड्नु भो,उहाँहरु दुबैजना विद्यार्थी नै हुनुहुन्थ्यो । यसरी क्याम्पसको निर्वाचनमा बावु छोरा सँगै उम्मेदार बन्दा त्यसको बाहीरी म्यासेज के जान्छ भन्ने महत्पूर्ण कुरा हो भन्ने लाग्छ मलाई । त्यसकारण यीनै विषयमा निर्वाचन सर्ला कि भन्ने जुन खालको आसंका थियो,त्यो हामीले मेटाएर अगाडि बढेका छौ । तसर्थ चुनाव हुन्छ र हुनुपर्छ भन्ने हाम्रो संगठनको माग हो ।

हामीले प्रत्यक प्रदेशबाट एक हजार जना समेटेर संगठनका अध्यक्ष नैनसिंह महरको संयोजकत्वमा सात हजार एक जनाको मूल निर्वाचन परिचालन समिति निर्माण गरिसकेका छौ । यस बर्ष हामीले अन्य तीनवटा स्ववियुको निर्वाचन फेस गरिसकेका छौ,मध्यपश्चिम विश्वविद्यालय,लुम्बीनी इन्जिनियरिङ कलेज र वायो मेडिकल इन्जिनियरिङ कलेजको स्ववियु निर्वाचनको फेस गरेका छौ,त्यसमा तीनैवटा कलेजमा नेविसंघ विजय भएको छ । यसबाट विद्यार्थीहरुमा रहेको लोकतन्त्र प्रतिको आस्था,विश्वास देखिएको छ ,जस्ले गुणस्तरिय र व्यवहारिक शिक्षा प्रणालीको लागि नेविसंघको पक्षमा जनमत बढिरहेको कुरा स्पष्ट पार्दछ । यो निर्वाचनमा हामी बहुमत सहित पहिलो हुन्छौ,यसमा हामी ढुक्क छौ ।

हाम्रो पहिलो एजेन्डा विश्वविद्यालयमा राजनीतिक भागबन्डाका आधारमा पदाधिकारीहरुको नियुक्ति गरिनछ,पदाधिकारीहरु भनेको प्रत्यक क्याम्पसको सहायक क्याम्पस चिफदेखि विश्व विद्यालयको उपकुलपति सम्म पर्दछन । हामी यि सबै पदहरुमा राजनीतिक सिफारिसका आधारमा हुनुहुदैन भन्ने चाहन्छौ । अर्को कुरा विश्व विद्यालयको क्यालेनडर लथालिङग छ,दोष विद्यार्थीले गर्दा हो भन्ने लगाइनछ । मुख्य कुरा के हो भने,विद्यार्थीको भर्ना,परीक्षा र परीक्षा र्फम तोक्नुपर्दछ भन्ने हो । क्याम्पसमा त टुरिस्ट खालका विद्यार्थीहरु भरिएर त्यहाँको शैक्षिक वातावरण बिग्रेको हो । हामी त्यसको सुधारको विषयमा बोलिरहेका छौं । देशैभरीको शिक्षा प्रणालीमा एकरुपता ल्याउनुपर्छ भन्ने हाम्रो मान्यता हो । हामी यिनै एजेनडाहरु लिएर निर्वाचनमा जान्छौ ।