‘राष्ट्रियता बचाउन आवश्यक परे अर्को संघर्ष पनि गर्नुपर्छ’–अध्यक्ष किरण

राष्ट्रियतालाई सत्ताधारीहरुले दुरुपयोग गरे

काठमाडौं,पुस १६ । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्य किरणले राष्ट्रिय स्वाधीनताको लागि आवश्यक परेमा प्रतिरोध आन्दोलन तथा अर्को संघर्ष र चौथो दिर्घकालीन महत्वको आन्दोलन समेत गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन ।

शनिवार नेकपा क्रान्तिकारी माओवादी,नेकपा मसाल र विप्लव नेतृत्वको नेकपा माओवादीले संयुक्तरुपमा आयोजना गरेको ‘जलश्रोत माथिको हस्तक्षेप र राष्ट्रिय स्वाधीनता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै क्रान्तिकारी माओवादीका अध्यक्ष बैद्यले त्यस्तो बताएका हुन ।

क्रान्तिकारी माओवादीका अध्यक्ष बैद्यले राष्ट्रियतालाई सत्ताधारीहरुले दुरुपयोग गरेको भन्दै त्यसको बिरुद्धमा क्रान्तिकारी पक्षधरहरुले राष्ट्रिय मुक्ति आन्दोलन चलाउनु पर्नेमा जोड दिए ।

उनले आन्दोलनमा एकता गरेका तीन दलतर्फ अंकित गर्दै भने–‘मुलुकमा राष्ट्रियताको नारा बेचेर धेरैले जनतालाई धोका दिएका छन । मुलुकले देश भक्तहरुको एकताको माग गरीरहेको छ,हामी जति सम्म अगाडि जान सक्छौ सँगै मिलेर यो लडाइमा सामेल होऔं ।’

उनले राष्ट्रियताको बचाउमा एक ढिक्का भएर आन्दोलन गर्नुको विकल्प आफुले नदेखेको भन्दै स्वाधीनताको आन्दोलनमा सबै राष्ट्रवादी शक्तिहरु एक भएर लाग्नुपर्ने धारणा राखे ।

अध्यक्ष किरणले अरुण तेश्रो,अपर कर्णाली र विराटनगरमा भारतीय पक्षले अबैधरुपमा राखेको अफिस हटाउनका लागि आफुहरु एकै ठाउँमा आएर संर्घष गरीरहेको बताए ।

उनले भने–‘हामी राष्ट्रिय स्वाधीनताको आन्दोलनमा जुटेका छौ । हाम्रो देसमा अर्ध सामन्ती र अर्ध औपनेवसीक अवस्था रहेको छ ,यसको पछाडि भारतिय साम्राज्यवादको हात रहेको छ, हामी मुलुकलाई त्यो अवस्थाबाट मुक्त बनाउन चाहन्छौ ।’

उक्त कार्यक्रममा नेकपा माओवादीका महासचिव विप्लवले आफुहरुले नेपालबाट जिएमआर भारत फर्कियोस भन्ने चाहेको भन्दै भारतिय हस्तक्षेपकारी नितीको विरुद्धमा क्रान्तिकारी पक्षधर शक्तिहरु एक भएर अगाडि बढेर तिनिहरुलाई धपाउन पर्ने बताए ।

विप्लवले सत्तामा हुदा देश बेचेर खाने,साम्राज्यवादीहरुको दलाली गर्नेहरुले आफु कमजोर भएकोबेला जनताको भावनासँग खेल्दै राष्ट्रियताको नारा लिने गरेको भन्दै त्यो राष्ट्रघाती प्रवृतीको अन्तय गर्न आन्दोलन गर्नुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा मसालका सचिव भिमलाल पुरीले हाम्रो मुख्य संम्पदा भनेको जल,जंगल र जमिन भएकाले त्यसको उपयोग बाट देसको विकास गर्न सकिने बताए ।

उनले जलमाफियाहरुले देसलाई बेचेर खाने गरेको इतिहास प्रस्तुत गर्दै राष्ट्रियताको आन्दोलनलाई अघि बढाउन आवश्यक रहेको धारणा राखें ।
कार्यक्रममा जलश्रोत विज्ञहरु रतन भण्डारी,दिपक ज्ञवाली र रत्न संसार श्रेष्ठ लगाएतले जल श्रोतमाथिको हस्तक्षेप र राष्ट्रिय स्वाधीनताको विषयमा आफ्नो बिचार राखेका थिए ।

विज्ञहरुले राजनीतिक दलहरु कमजोर अवस्थामा भएको बेला राष्ट्रियताको नारा फुक्ने र सत्तामा जादा सबै बिर्सने गरेको भन्दै राजनीतिक बेइमानीले गर्दा भारतले हाम्रा श्रोत साधनमाथि हस्तक्षेप गरेको बताए ।