स्वाधीनताको आन्दोलन ‘लैनचौरमा भोज खाने र सिंहदरबारमा डकार्ने’ दलालहरु बिरुद्धको संघर्ष होः विप्लव

हामीले यो सहकार्य परसम्म जावस भन्ने चाहेका छौ

काठमाडौं,पुस १६ । नेकपा माओवादीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले तीन दलले संयुक्त रुपमा अगाडि बढाएको स्वाधीनताको आन्दोलन लैनचौरमा भोज खाएर सिंहदरबारमा डकार्ने दलालवादी प्रवृतीका बिरुद्धको सघर्ष भएको बताएका छन ।

शनिवार नेकपा क्रान्तिकारी माओवादी,नेकपा मसाल र विप्लव नेतृत्वको नेकपा माओवादीले संयुक्तरुपमा आयोजना गरेको ‘जलश्रोत माथिको हस्तक्षेप र राष्ट्रिय स्वाधीनता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव विप्लवले त्यस्तो बताएका हुन ।

महासचिव विप्लवले आफुहरुले नेपालबाट जिएमआर भारत फर्कियोस भन्ने चाहेको भन्दै भारतिय हस्तक्षेपकारी नितीको विरुद्धमा क्रान्तिकारी पक्षधर शक्तिहरु एक भएर अगाडि बढेमा तिनिहरुलाई धपाउन सकिने विश्वास ब्यक्त गरे ।

विप्लवले सत्तामा हुदा देश बेचेर खाने,साम्राज्यवादीहरुको दलाली गर्नेहरुले आफु कमजोर भएकोबेला जनताको भावनासँग खेल्दै राष्ट्रियताको नारा लिने गरेको भन्दै त्यो राष्ट्रघाती प्रवृतीको अन्तय गर्न आन्दोलन गर्नुपर्नेमा जोड दिए ।

विगत एउटै पार्टीमा रहदा उनका राजनीतिक गुरु समेत रहेका क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरण तर्फ संकेत गर्दै विप्लवले भने–‘लैनचौरमा रात्रि भोज गरेर सिंहदरबारमा डकार्ने राष्ट्रघाती दलालहरु बिरुद्ध फेरी हामीहरु एक ठाउमा उभिएर संर्घष गर्दैछौ, हामीले यो सहकार्य पर सम्म जावस भन्ने चाहेका छौ ।’

उनले माओवादी केन्द्र तर्फ संकेत गर्दै भने–‘आफ्नो कुर्सि र सत्ताको रक्षाकालागि राष्ट्रघात गर्ने दलालहरुले झुटो राजनीतिको खाल ओढेर हाम्रा नदि नाला र प्राकृतिक संम्पदाहरु बिक्रि गरेका छन । उनीहरुमा मालिकको सबै भन्दा प्यारो बन्ने खालको प्रतिश्प्रधा चलेको देखिन्छ । अब हामीले त्यहि प्रवृतिको बिरुद्ध संघर्ष गर्नुपर्दछ ।’

असल छिमेकीले समस्या पर्दा सघाउनु पर्दछ, तर भारतले सुगौली सन्धीदेखी आज सम्म पुग्दा हामीबीच नाफाको गोटी मात्र चालेको देखीन्छ । आन्तरिक फुट पैदा गरेर त्यसमा खेल्दै आफ्नो स्वार्थ पुरागर्ने भारतिय हस्तक्षेपकारी प्रवृतिको सत्ताधारी दलहरु दास जस्ता भएका छन– विप्लवले भने ।

उनले भारतिय लगानिमा नेपालमा संचालित प्रोजेक्टहरुमा नेपाल शसस्त्र प्रहरीले सुरक्षा गरिरहेको विषयमा बोल्दै भने–‘देसमा जनताहरु दिउसै लुटिएका छन, जनता मारिएका छन, जनताले सुरक्षाको अनुभूति गर्न सकेका छैनन, तर हाम्रो सुरक्षा निकाय भारतियहरुको गोटी भएको देखिन्छ । नेपाल प्रहरीसँग हाम्रो प्रश्न छ– तपाईहरुलाई नेपाली जनताको पसिनाबाट उठेको करबाट तलब भत्ता दिइन्छ कि भारतबाट पनि पाइन्छ ?’

उक्त कार्यक्रममा नेकपा क्रान्तिकारीका अध्यक्ष मोहन बैद्य,मसालका सचिव भिमलाल पुरी,जलश्रोत विज्ञहरु रतन भण्डारी,दिपक ज्ञवाली र रत्न संसार श्रेष्ठ लगाएतले जल श्रोतमाथिको हस्तक्षेप र राष्ट्रिय स्वाधीनताको विषयमा आफ्नो बिचार राखेका थिए ।