चार महिनादेखि रुकुमका १२ गाविसमा मोबाइले सेवा अबरुद्ध

सेवा सुचारु गर्न ध्यान नदिएको स्थानीयको गुनासो

रुकुम,पुस १६ । रुकुमका विभिन्न १२ वटा गाविसमा चार महिनादेखि मोबाइल सेवा बन्द भएपछि स्थानीयवासीले सास्ती खेप्नु परेको छ । त्यहाँ मोवाइल सेवा सुचारु गर्न सम्बन्धित निकायले ध्यान नदिएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन ।

मुख्यगरी पुर्वि रुकुमका रन्ममैकोट, हुकाम, कोल, काँक्री, महत, मोरावाङ लगायत गाविसका बासिन्दालाई टावरको खराबीका कारण मोबाइल सेवामा सास्ती खेप्नु परेको छ ।

टेलिफोन सेवा नभएका कारण स्थानीयवासीलाई सानो काममा पनि हैरानी खेप्नुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ ।
टेलिकमका अनुसार पुर्वी रुकुमको मोराबाङ लेकमा रहेको स्काई (जिएसएम) फोनको टावर बिग्रिएको छ । त्यसको मर्मतमा लामो समय लागेकाले स्थानीयवासी सञ्चार विहीन भएका हुन ।

पटक पटक नेपाल टेलिकमको टावर राख्न र मोबाइल सेवा सञ्चालन गर्न माग गरिए पनि आफ्नो मागको बेवास्ता भएको स्थानीयवासीको गुनासो छ ।

नेपाल टेलिकमको जिएसएम टावरले काम नगरेकाले स्थानीयवासीलाई सास्ती भएको र त्यसको मर्मतमा सम्बन्धित निकायले आवश्यक चासो नदेखाएको स्थानीय शिक्षक कर्णबहादुर केसीले बताएका छन ।

ति क्षेत्रका स्थानीयवासीहरुले मोबाइलको सेवा लिन अहिले रुकुमकोट आउनुपर्ने बाध्यता भएको छ ।

नेपाल टेलिकम रुकुम शाखाका प्रमुख कृष्ण शर्माले टावरमा समस्या आएको बारे आफूहरुले माथि खबर गरेको तर प्राविधिक ज्ञान भएको मानिस आउन ढिला भएकाले चाडै समस्या समाधान हुन नसकेको बताए ।