बैद्य माओवादी नेता सिपीको जग्गा प्रचण्ड माओवादीका नेता हरिबोलद्धारा कब्जा

दुबै दाजुभाई तर बोलचाल सम्म छैन

काठमाडौं,पुस १६ । प्रचण्ड निकट माओवादी केन्द्रका नेता हरिबोल गजुरेल र बैद्य निकट क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल दुबै दाजु भाई हुन तर उनीहरुको बिचमा देखिएको अलग राजनीतिक पार्टीमा रहेका छन । उनीहरुअहिले धेरै बिषयमा मतान्तरहरु आएका छन ।

बीच अनिनेपालको वाम–राजनीतिमा सुनिइरहने नामभित्रै पर्छन् सिपी गजुरेल र हरिबोल गजुरेल । एकै पृष्ठभूमि र एउटै कम्युनिस्ट पार्टीबाट राजनीतिमा प्रवेश गरेका दुवै नेता अहिले फरक माओवादीमा छन । उद्देश्य एकै छ, तर त्यसलाई प्राप्त गर्ने राजनीतिक कार्यदिशाको अन्तरका कारण यी दुई विपरीत धारबाट अगाडि बढेका छन । अर्थात सिपी मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा छन भने हरिबोल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा ।

सिपी अझै पनि नेपालमा ‘जनविद्रोह’को आवश्यकता रहेको ठान्छन् । उनी अहिलेको संविधान खारेज हुनुपर्ने तर्क गरिरहेका छन् । तर, हरिबोल संविधान कार्यान्वयनको बाटोमा दृढतापूर्वक लागेका छन् । यी दुवै नेता एकै परिवारका दाजुभाइ पनि हुन् । दुवै साख्खै दाजुभाइ होइनन्, उनीहरूका बाबुहरू भने सहोदर दाजुभाइ हुन् । जेठाका छोरा सिपी र माइलाका छोरा हुन्, हरिबोल । सिपी हरिबोलभन्दा ६ वर्ष जेठा छन् । २० चैत २००५ मा सिन्धुलीको राममाडीमा जन्मिएका हुन्, सिपी । हरिबोल भने १५ चैत २०११ मा सिन्धुलीमाढी, च्याउकोटमा जन्मिएका हुन् ।

जमिन्दार पृष्ठभूमिका कम्युनिस्ट

सिपी–हरिबोलको पारिवारिक पृष्ठभूमि, रहनसहन र शिक्षा–दीक्षा हेर्ने हो भने त्यसवेला उनीहरू कम्युनिस्ट आन्दोलनमा जोडिन आइपुग्नुलाई नै अनौठो मानिन्थ्यो । दुवै सम्पन्न परिवारका थिए ।

सिन्धुली, महोत्तरी र धनुषासम्म उनीहरूका प्रशस्त जग्गा जमिन थिए । कम्युनिस्ट भनेका सर्वहारा हुन्, जसको केही हुँदैन, गरिब परिवारका मान्छे कम्युनिस्ट बन्छन् भन्ने आमबुझाइविपरीत यी दुई ‘जमिन्दार’ परिवारबाट कम्युनिस्ट बनेका थिए ।

दुवैका परिवारले उनीहरूलाई रामै्रसँग उच्च शिक्षा पढाएका थिए । २०२८ सालतिरै सिपीले बीएस्सी अध्ययन गरिसकेका थिए । हरिबोलले पनि बीकमसम्मको अध्ययन गरेका छन ।

सिपी–हरिबोल दुवैले प्रारम्भिक शिक्षा भने संस्कृतबाट सुरु गरेका हुन । सिपीका बुबाले घरमै संस्कृत पढाउने शिक्षक राखिदिएका दिए । हरिबोल भने चौतारामा गाउँकै पण्डितसँग पढ्थे ।
ऋषि देवकोटा (आजाद) सँग सिपीले ७ कक्षाबाट सँगै पढेका थिए । दुवै मिल्ने साथी पनि थिए । पछि सिन्धुलीकै खुर्कोटमा उनीहरूले विद्यालय र पुस्तकालय निर्माण गरे । आजाद सो विद्यालयको प्रधानाध्यापक बने भने सिपीचाहिँ शिक्षक । सिपी पढेलेख गरेका जिल्लाकै प्रतिष्ठित शिक्षक थिए, त्यसवेला । सिन्धुलीको कमलामाई मात्र होइन, उनले रामेछापको गौरीशंकर माध्यमिक विद्यालयमा समेत पढाएका थिए । उनी विज्ञान विषय पढाउने गर्थे । तर, हरिबोलले अध्यापन गरेनन ।

सिपीबाटै लिए हरिबोलले पार्टी सदस्यता

सिपीले २०२४ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका हुन् । ऋषि देवकोटा पार्टी जिल्ला सेक्रेटरी हुँदा सिपी जिल्ला सदस्य थिए । ०३७ सालमा उनी पार्टीको केन्द्रीय सदस्य भइसकेका थिए । हरिबोलले भने २०३३ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका हुन । हरिबोललाई राजनीतिमा ल्याउन सिपीकै भूमिका छ । सिपीले हरिबोललाई प्रशिक्षणका साथै कम्युनिस्ट पार्टीको सदस्यता पनि दिए ।

हरिबोल रसियन क्रान्तिबाट प्रभावित थिए । त्यही भएर उनलाई कम्युनिस्ट पार्टीप्रतिको झुकाव बढ्दै गएको थियो । ‘म त्यसवेला रसियन क्रान्तिबाट अन्त्यन्त प्रभावित थिएँ, त्यसैको प्रभावले कम्युनिस्ट बन्नुपर्छ भन्ने लागिरहन्थ्यो, गाउँमै किसानहरूको भेला गर्दै हिँड्थेँ, एकपटक सिपीलाई प्रशिक्षणमा पनि बोलाएका थियौं,’ हरिबोल सम्झन्छन, ‘त्यसपछि मैले कम्युनिस्ट पार्टीको सदस्यता लिएँ । सदस्यता मलाई सिपीले नै दिनुभएको हो ।’

०४२ मा उनीहरूको पार्टीमा विभाजन आयो । सिपी मोटो मशालतिर लागे भने हरिबोल मोहनविक्रम सिंह नेतृत्वको पातलो मसालतिर । विभाजनपछि मोहनविक्रम नेतृत्वको नेकपा ९मसाल० को हरिबोल केन्द्रीय सदस्य बने ।

सुरुदेखि नै अन्तर्विरोध

कम्युनिस्ट पार्टी प्रवेश गर्दा यी दुई दाजुभाइको ‘स्कुलिङ’ एउटै थियो । तर एकै पार्टीमा रहे पनि सुरुदेखि नै दुईबीच कुनै न कुनै रूपमा विवाद भइरहने त्यसवेला सँगै काम गरेका नेताहरू बताउँछन । ‘उनीहरूका बीचमा एउटै पार्टीमा रहे पनि ठ्याक्कै मेल खाँदैनथ्यो,’ त्यसवेलाका सहयात्री एक नेताले भने, ‘सिपीले गरेको कुरामा हरिबोल विपक्ष हुने, हरिबोलले गरेको कुरामा सिपी फरक धारणा राख्ने अवस्था रहिरह्यो ।’

पञ्चायती शासकहरूले सिन्धुलीमा ०३५ देखि ०३७ सम्मको तीन वर्षको अवधिमा निर्मम दमनको नीति अख्तियार ग¥यो । त्यही वेला सिन्धुलीमा कम्युनिस्ट आन्दोलनका ताराकै रूपमा चिनिने ऋषि देवकोटा, दुर्गा सुवेदी र दलबहादुर रजनमगर मारिए ।

आजाद विचारक, दुर्गा संगठक र दलबहादुर फौजी स्वभावका थिए । उनीहरूसँगै एउटै जिल्ला कमिटीमा रहेर काम गर्थे सिपी र हरिबोल गजुरेल पनि । यी पाँच नेताकै कारण सिन्धुलीमा कम्युनिस्ट प्रभाव राम्रैसँग झाँगिएको थियो । तर तीनजना नेता मारिएपछि भने सिन्धुलीको कम्युनिस्ट आन्दोलनले नराम्रोसँग धक्का खान पुग्यो । मारिएका तीन नेताका विषयमा गोपनियता जोगाउन नसक्दा दुर्घटना भएको आरोप९प्रत्यारोप सिपी र हरिबोलका बीचमा चलिरह्यो । हरिबोल आपूm निकटसँग भन्थे, ‘सिपीले गोपनियता जोगाउन नसक्दा दुर्घटना हुन पुग्यो ।’ उता सिपी पनि आफूनिकटसँग भन्ने गर्थे, ‘हरिबोलका कारण घटना भयो ।’ यही विषयले दुवैको सम्बन्धमा तिक्तता बढ्न पुग्यो ।

सिपीविरोधी पर्चा काण्ड 

आजादलगायतका नेता मारिएपछि मनमुटावमा पुगेको सिपी–हरिबोलको राजनीतिक सम्बन्ध २०४२ सालमा ‘ब्रेक’ लाग्न पुग्यो । मोहन वैद्य नेतृत्वको बहुमत पक्षले मोहनविक्रमलाई वैवाहिक सम्बन्धबाहिर विद्या ढकाल (जलजला) सँग सम्बन्ध राखेको आरोपमा पार्टीबाट निष्कासन गरेको थियो । त्यसपछि सिंहले भारतको गोरखपुरमा राष्ट्रिय सम्मेलन गरी नयाँ पार्टी खोले– नेकपा मसाल । हरिबोल मोहनविक्रमतिर र सिपी वैद्यतिर लागे ।

हरिबोललगायतको टिमले ०४६ सालको बहुदलपछि सिपीले प्रशासनसमक्ष दिएको बयान भन्दै पर्चा नै बनाएर वितरण गरे । त्यसवेला हाल नयाँ शक्ति नेपालमा रहेका नेता गंगानारायण श्रेष्ठलगायतलाई हरिबोलहरूले सिपीविरुद्ध पर्चा वितरणका लागि खटाएका थिए । पर्चामा सिपीले पक्राउ पर्दा प्रहरीलाई दिएको बयान भनेर छापिएको थियो ।

सिपीको जग्गा कब्जा

सिन्धुलीमा रहेको जग्गा कब्जाको विषयमा पनि यी दुई भाइबीच सुरुमा ‘टसल’ देखिएको थियो । बहुदल अगाडि नै सामन्त जमिन्दारहरूको जग्गा कब्जा गर्ने नीति कम्युनिस्ट पार्टीले बनाएको थियो । धनुषा, महोत्तरी क्षेत्रतिरबाट मातृका यादवलगायतका नेताहरूले यो अभियानलाई तीव्र बनाउँदै लगेका थिए । त्यही क्रममा यादव नेतृत्वको टोलीले सिन्धुलीमा सिपी गजुरेलेको बाबुको नाममा रहेको जग्गा कब्जा गरे ।

त्यस घटनामा हरिबोल, सिपीको राजनीतिक ‘इगो’ पनि कारणको रूपमा जोडिएको बताउने नेताहरू पनि छन । ‘सिपीको जग्गा कब्जा गर्न मातृकालगायतका नेताहरू मधेसबाट सिन्धुली उक्लिनुभएको थियो,’ एक नेताले भने, ‘त्यस घटनामा दाजुभाइको राजनीतिक इगो पनि थोरबहुत जोडिएको अहिले अनुमान लगाउन सकिन्छ ।’

फेरि जगमगायो संगठन

सिन्धुलीमा पातलो मसालको नेतृत्व हरिबोलले गर्थे भने मोटो मशालको सिपीले । बहुदल आउने वेला हरिबोल मोहनविक्रमप्रति असन्तुष्ट थिए । उनले त्यसवेला पार्टी केन्द्रीय समितिबाट राजीनामा दिएका थिए । सिंहले सही ढंगले पार्टीको नेतृत्व दिन र गर्न नसकेको ठानेर उनी पार्टीबाट राजीनामा दिएर घरमा बसिरहेका थिए । त्यही वेला प्रहरीले उनलाई पक्राउ ग¥यो । पक्राउ परेको झन्डै एक महिनामा बहुदल आएका कारण हरिबोल जेलबाट छुटे ।

सिन्धुलीमा आजादलगायतका नेताहरूको निधनले धक्का खाएको कम्युनिस्ट आन्दोलनमा मलजल गर्न पुगे, राम कार्कीलगायतका नेताहरू । त्यसपछि भने कार्की, हरिबोल, महेन्द्र श्रेष्ठ, गंगानारायण श्रेष्ठ, ध्रुव देवकोटा (हाल निष्क्रिय) लगायत मिलेर संगठन विस्तार गरे ।

सिपी रहेको मोटो मशालभन्दा हरिबोलहरू रहेको पातलो मसाल सिन्धुलीमा बलियो थियो । उनीहरूले मोटो मशालले सुुरु गरेको क्रान्तिकारी पार्टीहरूको ध्रुवीकरणमा जोड दिन थाले । प्रचण्ड नेतृत्वको पार्टीसँग मोहनविक्रमसहित एकतामा जोड गरे । तर सिंह राजी नभएपछि उनीहरूले नवलपरासीको धारापानीमा छुटै राष्ट्रिय भेला गरेर नयाँ पार्टी गठन गरे । हरिबोल महामन्त्री बने । बाबुराम भट्टराईलगायतका नेताहरू हरिबोलको नेतृत्वमा पार्टी एकतामा आए । हरिबोल, सिपीको ६ वर्षसम्म अलग पार्टीमा रहेर ‘ब्रेक’ लागेको राजनीतिक सम्बन्ध फेरि जोडिन आइपुग्यो । त्यसपछिका २० वर्ष पुनः उनीहरू एकै पार्टीमा रहे ।

जनयुद्ध सुरु गर्ने कम्युनिस्ट पार्टी बनाउँदा भने यी दुई नेता फेरि एकै पार्टीमा आइपुगे । दुवैले जनयुद्धको तयारी एकै कमिटीमा रहेर गरे । जनयुद्ध सुरु गर्दा सिपी पूर्वाञ्चल इन्चार्ज थिए भने हरिबोल फिल्ड कमान्डर । जनयुद्धको पहिलो कारबाहीका क्रममा हरिबोलको नेतृत्वमा सिन्धुलीगढी प्रहरी चौकीमा माओवादीले फौजी आक्रमण ग९यो । त्यसको डेढ महिनाको बीचमै हरिबोल पार्टीको कारबाहीमा परे ।
हरिबोललाई कारबाही गर्ने केन्द्रीय समिति बैठकमा पूर्वाञ्चल ब्युरो इन्चार्ज भए पनि सिपी बैठकमा गएनन । तर, उनले कारबाहीको पक्षमा आफूलाई उभ्याएका थिए । २० वर्ष उनीहरू एउटै पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहे । तर पनि सिपी–हरिबोल सम्बन्ध सुमधुर बन्न सकेन ।

पार्टीभित्र लामो समय सिपी विदेश विभागको जिम्मेवारीमा रहे, हरिबोल भने पूर्वाञ्चलकै जिम्मेवारीमा रहिरहे । सिपीले २०३९ सालदेखि कुनै न कुनै रूपमा पार्टीको विदेश विभागको जिम्मेवारी सम्हाल्दै आएका छन । उनी नक्कली पासपोर्ट काण्डमा भारतको चेन्नई विमानस्थलमा पक्राउसमेत परे ।

समानता–असमानता

अहिले पनि कम्युनिस्ट पार्टीलाई सर्वहारा वर्गको पार्टी भन्ने बुझाइ छ । सम्पन्न पारिवारिक पृष्ठभूमिका यी दुई दाजुभाइ त्यस्तो परिवेश र सन्दर्भमा कम्युनिस्ट आन्दोलनमा जोडिन आइपुगे, त्यो कम्युनिस्ट आन्दोलनमा लाग्न चाहनेहरूका लागि उदाहरण नै थियो ।

शिक्षित परिवार, जमिन्दार, खान–लाउन मज्जैले पुग्ने परिवारका सदस्य कम्युनिस्ट आन्दोलनमा जोडिन आएकोमा कम्युनिस्ट पार्टीमा लागेका नेता कार्यकर्ता दुवैलाई आदर गर्थे । तर, सैद्धान्तिक रूपमा कम्युनिस्ट दर्शन अँगालेर कम्युनिस्ट बन्न आइपुगे पनि दुवैको जीवन व्यवहार भने वेलावेला कम्युनिस्ट चरित्रअनुसारको हुन नसकेको टीकाटिप्पणी पनि हुने गर्दछ । दुवै निषेधात्मक राजनीति गर्न रुचाउने नेतामा पर्ने कार्यकर्ताहरूको मूल्यांकन छ ।

रुचि, स्वभाव र आनीबानी

माओवादी स्कुलिङका नेता कार्यकर्ताहरू भन्छन– हरिबोलभन्दा सिपी गजुरेल निकै सरल छन । कसैको घरगोठमा पुगेर यही खान्छु, यसो गर्नुपर्छ भन्ने स्वभाव सिपीको छैन । उनी बोल्दा पनि बोल्दैनन, जे आउँछ त्यही खाइदिन्छन, जे सुनाउँछन् त्यही सुनिदिन्छन । तर हरिबोल कतिपय कुरामा प्रस्ट बोल्न सक्छन । आफूलाई खान मन लागेका कुरा र चित्त नबुझेका कुरा मन खाने नेता–कार्यकर्ताकहाँ गएर धक फकाएर भन्न सक्छन ।

साहित्य लेख्ने, पढ्ने विषयमा हरिबोलभन्दा सिपी पढी पारखी छन । रुचि पनि राख्छन् । उनका केही कथा, निबन्धलगायतका कृतिहरू प्रकाशित पनि छन । सिपीको तुलनामा कम अध्ययन गर्छन् हरिबोल । सिपी राम्रो भाषण गर्न सक्छन । उनमा वाकपटुता राम्रो छ । तर, हरिबोलमा भाषण दिने कलाको खुबी छैन, जति सिपीले दिन सक्छन ।

हरिबोल स–सानो समूहमा भेटघाट गर्ने र संगठन निर्माण गर्न सक्ने कला भएका नेता हुन । तर सिपीमा हरिबोलमा रहेको यो गुणको कमी छ, यस्तै भन्छन्, दुवैसँग संगत गरेका नेता–कार्यकर्ता । पारिवारिक संस्कार दिने कुरामा भने सिपीको भन्दा हरिबोलको परिवार अब्बल मानिन्छ ।

राजनीतिमा निरन्तर झुकाव र लगनशीलता दुवैको विशेषता देखिन्छ । हरिबोल सिपीको गुण केलाउँदै भन्छन्, ‘सिपी राजनीतिक यात्रामा निरन्तर लाग्न सक्ने नेता हुनुहुन्छ । जस्तोसुकै कठिन परिस्थितिमा पनि कम्युनिस्ट आन्दोलनमा निरन्तर लागिरहनु भनेको उहाँको सकारात्मक पक्ष हो । क्रियाशील राजनीतिमै उहाँ लागिरहनुभएको छ, यो राम्रो पक्ष हो ।’

ठप्पै छ अहिले भेटघाट

माओवादी पार्टी विभाजनपछि सिपी मोहन वैद्य नेतृत्वको पार्टीमा रहे । हरिबोल भने प्रचण्डसँग । यो बीचमा केही माओवादी घटक पार्टीहरू एकत्रित भए । विभाजित भएर गएका रामबहादुर थापा बादललगायतका नेताहरू पुनः प्रचण्डसँग एकतामा आए । तर, सिपी अहिले पनि मोहन वैद्यसँगै छन । उनी वैद्य नेतृत्वको माओवादीले बनाएको संयुक्त मोर्चा देशभक्त जनणतान्त्रिक मञ्चका संयोजक छन् । हरिबोल भने सांसद मात्रै होइन, मन्त्रीसमेत भइसके । सिपी गजुरेलले लाभको पद भने हासिल गर्न पाएका छैनन ।

दुई दाजुभाइबीच २०६९ असारमा माओवादी पार्टी विभाजनपछि भेटघाट ठप्पै छ भन्दा पनि हुन्छ । पार्टी विभाजनको यो पाँच वर्षको अन्तरालमा यी दुई नेताका बीचमा मुस्किलले दुईपटक मात्र भेटघाट भएको छ । ‘खासै भेटघाट भएको छैन, एकपटक एउटा कार्यक्रममा र अर्कोपटक उहाँ पनि सिन्धुलीमै रहेको र म त्यही बाटो हुँदै जाँदै गरेको अवस्थामा म आफैँ गएर भेटेको छु, त्यसयता खासै भेटघाट छैन, ‘राजनीतिमा लागेपछि कतिपय सम्बन्ध पारिवारिक हुँदो रहेनछ, राजनीतिक सम्बन्ध नै प्रमुख हुँदो रहेछ । हामीमा पनि त्यही छ,’ हरिबोल भन्छन, ‘सम्बन्ध नराम्रो पनि होइन, एकदमै राम्रो पनि होइन, बोल्दै नबोल्ने पनि होइन, भेट हुँदा बोलचाल हुन्छ नै । वैचारिक रूपमा भिन्नता आइसकेपछि भेटघाट, सम्बन्धको त्यस्तो ग्याप भने देखिँदो रहेछ ।’

सिपी गीतकार

सिपी गजुरेल गीतकार पनि हुन । उनले ‘सिन्धुली जिल्लैमा कमलाको पाखैमा‘।,’ ‘तीन चौथाइ चामलको भरमा कति बस्नु यो रातो घरमा‘’ जस्ता गीत लेखेका छन् । उनी जनवादी गीत गुनगुनाउन रुचाउँछन् । साहित्यमा सिपी गौरव नामले परिचित छन ।
त्यसो त, उनी भलिबलका राम्रै खेलाडी हुन । उनी भलिबल मात्र होइन, चेस, टेबलटेनिसजस्ता खेल खेल्न रुचाउँछन । हरिबोल पनि चेस खेल्न रुचाउँछन ।
यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकासीत भएको छ । यसलाई रामकृष्ण अधिकारीले लेखेका हुन ।