सार्वजनिक बिदाबारे मन्त्रीपरिषद बैठकमा चर्काचर्कीः मन्त्री केसीको माग पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

मन्त्री केसीलाई प्रचण्डको जवाफ त्यो राजनीति विषय हो

काठमाडौं,पुस १५ । सरकारले गत १० गते क्रिसमस पर्वको अवसरमा दिइएको सार्वजनिक विदालाई लिएर हिजो (विहिबार) मन्त्रिपरिषद् बैठकमा लामो चर्काचर्की भएको छ ।

बैठकमा विभिन्न मन्त्रीहरुले क्रिसमस पर्वमा सार्वजनिक बिदा दिएको विषयमा गृहमन्त्री र आफ्नै सरकारलाई प्रश्न गदै पृथ्वी जयन्तीमा विदा दिन तयार हुनुपर्ने धारणा प्रस्तुत गरेका छन ।

बैठकमा बोल्दै परराष्ट्रमन्त्री समेत रहेका कांग्रेस नेता प्रकाशशरण महतले डेलिगेशन आएकै भरमा क्रिसमसको विदा दिएको भन्दै गृहमन्त्रीको काम प्रति असन्तुष्टि जनाएका थिए ।
उनले सरकारको कार्यशैलिले राज्य कति कमजोर रहेछ भन्ने उजागर गरेको बताए ।

प्रचण्ड नेतृत्वको सरकारले यो वर्ष क्रिसमसमा इशाई धर्मावलम्बीलाई मात्र विदा दिने निर्णय थियो । गृहमन्त्री विमलेन्द्र निधिले अघिल्लो दिन साँझ अबेर मात्र मन्त्रीस्तरीय निर्णयबाट सार्वजनिक विदा दिने घोषणा गरेको भन्दै उनको आलोचना समेत बैठकमा भयो ।

बैठकमा बोल्दै ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले सार्वजनिक विदा धेरै भएकाले ति सबैको पुनरावलोकन गर्नुपर्ने बताए । उनले खास खास पर्व र समुदायमाको लागि बिदा बारे सरकार प्रष्ट हुनुपर्ने धारणा राखेका थिए ।

सरकारका मुख्य सचिव सोमलाल सुवेदीले गत वर्ष पृथ्वी जयन्तीमा विदा दिने कुरा उठे पनि अन्तिममा सार्वजनिक बिदा नभएको बताए । उनले गत बर्ष पनि विदा पुनरावलोकनको कुरा उठेको सुनाए ।

त्यसैगरी शहरी विकासमन्त्री अर्जुनरसिंह केसीले सरकारले क्रिसमसमा बिदा दिएको भन्दै अगाडि भने–‘पुस २७ मा पनि सरकारले पृथ्वी जयन्तीको अवसरमा विदा दिन पर्छ ।’

उनले नेपाल एकीकरण गर्न योगदान पुगाएका पृथ्वी नारायणलाई त्यो दिन सरकारले उनको सम्मानमा सार्वजनिक बिदा दिनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा बोल्ने सबैको कुरा सकिएपछि प्रधानमन्त्री प्रचण्डले अफूहरुले पनि कविला राज्यहरुलाई एकीकरण गरेका पृथ्वी नारायणलाई ऐतिहासिक नै मानेको बताएको बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको विषय राजनीतिक पनि भएको भन्दै उनले यसबारे छलफलका लागि समय चाहिने बताएका छन ।