बाबुरामले भने–ज्ञानेन्द्रको धमिलो पानीमा माछा मार्ने योजना सफल हुन सक्दैन

नयाँ शक्तिको कडा जवाफ

काठमाडौं,पुस ७ । नयाँ शक्तिपार्टीले पुर्व राजा ज्ञानेन्द्र शाहले धमिलो पानीमा माछा मार्न खोजेको भन्दै उनको पछिल्लो चलखेलप्रति आपत्ति जनाएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै शाहले पुराना दलहरु सुशासन, विकास र समृद्धि तथा जनचाहना विपरित कुुर्सीको झगडामा डुबेको भन्दै विज्ञप्ति जारी गरेपछि नयाँ शक्तिले पनि बिहिबार विज्ञप्तिमार्फत नै कडा जवाफ फर्काउँदै धमिलो पानीमा माछा मार्ने योजना सफल हुन नदिने जनाएको छ ।

नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले जारी गरेको विज्ञप्तिमा नेपाली जनताको भारी अभिमतमार्फत संविधानसभाबाटै विधिवत अन्त्य भइसकेको राजतन्त्रले घुमाउरो पाराले आफूलाई स्थायी र लौकिक सत्ताको दावा गरेको उल्लेख गरिएको छ ।

नयाँ शक्तिले हिमाल, पहाड र तराई टुक्रयाँउन खोजिएको जस्ता प्रतिगामी अभिव्यक्तिसहितको शाहको विज्ञप्ती नेपाली जनताको लामो संघर्ष त्याग र बलिदानको अपमान भएको ठहर समेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ ‘पुर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति नेपाली जनताको परिवर्तनको चाहनाप्रतिको खुला चुनौती हो,हामीलाई त्यो स्वीकार्य हुदैन ।’

नयाँ शक्तिले विगत ७० वर्षदेखिको नेपाली जनताको चाहनाअनुसार प्राप्त गणतन्त्र संघीयता धर्मनिरपेक्षता र समानुपातिक समावेशी लोकतन्त्र नेपाली राजनीतिको आधारभूत मान्यता भैसकेको भन्दै उक्त विज्ञप्ती नेपाली जनतामा निहित सार्वभौमसत्ता नेपालको संविधान र संविधानले संस्थागत गरेका आधारभूत मान्यताकै विपरित आएको दावी गरेको छ ।

सो पार्टीले यस्ता आधारभूत मान्यताविरुद्ध गरिने कुनै पनि हर्कत राज्य विरुद्धका अपराधका रुपमा परिभाषित गर्न माग समेत गरेको छ ।