बन्दगराउदै हिडेका विप्लवका ११ कार्यकर्ता पक्राउ

सुरक्षा व्यवस्थामा कडा

काठमाडौँ,पुस ७ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादी पार्टीका जनवर्गीय संगठनले बिहिबार गरेको उपत्यका बन्दका क्रममा प्रहरीले ११ जना बन्दकर्तालाई राजधानीबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौका डिएसपी सिद्धिविक्रम शाहले हरपल नेपाललाई दिएको जानकारी अनुसार काठमाडौंको विभिन्न ठाउबाट उनीहरु पक्राउ परेको हो ।

डिएसपी शाहका अनुसार बागबजार क्षेत्रबाट ५ जना, बबरमहल क्षेत्रबाट ३ तथा नयाँ बजार क्षेत्रबाट ३ जना बन्दकर्ताहरु पक्राउ परेका हुन ।
पक्राउ पर्नेहरुमा अखिल क्रान्तिकारीका सचिव राम बहादुर बिक,पार्टी उपत्यका इन्चार्ज लोकेश विश्कर्मा, लगाएत कृष्ण सेवा, केस सन्जेल, प्रदिप जंग शाही, सुरज खड्का, राजन गिरी, सरोज पराजुली,केसव संज्याल लगायत रहेका छन ।

अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले हरपल नेपालसँगको कुराकानीमा भने–‘सरकारले हाम्रो आन्दोलनलाई बिथोल्न खोजेको देखियो,राज्यले हामीलाई जबरजस्त युद्धमा जान बाध्य पार्दैछ ।’

बन्द घोषणापछि राजधानीमा उच्च सुरक्षा सतर्कता अपानाइएको प्रहरीका भनाइ रहेको छ । प्रहरी बिहानै देखि राजधानीका मुख्य चोकमा तैनाथ रहेको देखिन्छ भने गस्ती कडा पारीएको छ ।

भाडाका सवारी थोरै मात्रामा चलिरहेको भएपनि निजी सवारी साधनहरु विशेष गरेर मोटरसाइकल,कार लगाएतका सवारी साधनहरु संचालन भएको देखिन्छ ।

पेट्रोलियम पदार्थमा भएको मुल्यबुद्धिको विरोधमा विप्लव नेतत्वको माअ‍ोवादीको जनवर्गीय संगठनले बुधवार उपत्याका बन्दको घोषणा गरेको थियो ।

राष्ट्रिय युवा जनस्वयंसेवकका अध्यक्ष झकबहादुर मल्ल, अखिल क्रान्तिकारी ट्रेड यूनियनका केन्द्रीय सदस्य अनुप शर्मा र अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष पूर्णबहादर सिंहले संयुक्त विज्ञप्ती निकालेर बन्दको घोषणा गरेका थिए । यस अघि उनीहरुले आयल निगम बाहिर प्रर्दशन गरिसकेका थिए ।