समय मिलाएर नेपाल आउछुः चीनीया राष्ट्रपति सी जिनपिङ

दुई देशको सम्बन्ध बहुआयामिक

काठमाडौं, पुस ५ । चीनियाँ राष्ट्रपति सी जिनपिङले उपयुक्त समय मिलाएर चाँडै नेपाल भ्रमण गर्ने बताएका छन ।

चीनका लागि नवनियुक्त राजदूत लीलामणि पौड्यालले ग्रेट हल अफ दि पिपुलमा बुझाएको ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै राष्ट्रपति सिले त्यस्तो कुरा बताएका हुन ।
उनले नेपालले एक चीन नीति पालना गरेकामा धन्यवाद दिँदै ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ दुवै देशका लागि लाभकारी हुने विश्वास दिलाए ।

उनले विश्व परिस्थितिमा जस्तो परिवर्तन आए पनि दुई देशबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध कायमै रहने बताउदै दुइ देसबीचको सम्बन्ध पुरानो भएको बताए ।
नव नियुक्त राजदूत पौड्यालले भने–‘राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सिलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन,उहाँले समय मिलाएर नेपाल आउने बताएका छन ।’

राष्ट्रपति सिको भ्रमणले हिमालपारिका क्षेत्रमा समृद्धि र स्थिरताका लागि रेलवे, यातायात, संस्कृति, पर्यटन, व्यापार, लगानी, ऊर्जा, सञ्चार र दुई देशका जनताबीचको सम्बन्धका क्षेत्रमा बहुआयामिक सहयोगको प्रवद्र्धन गर्न नयाँ अवसर खोल्नेमा राजदूतले जोड दिए ।

उनले विगतमा बुद्धिमान र दूरदर्शी नेताहरुले विस्तार गरेको दुई देशबीचको सम्बन्ध यस क्षेत्रमा आगामी दिनमा शान्ति, स्थिरता र विकासलाई नयाँ उचाइमा पु¥याउन अझ सुदृढ गर्नुपर्ने बताउँदै चीनको बल र विकासबाट लाभ लिई नेपालमा विकास र स्थिरताका लागि नेपाली जनताले ठूलो आशा र अपेक्षा गरेको पनि उल्लेख गरे ।